सिन्धुपाल्चोक, भदौ १७
यहि भदौ २० र २१ गते हुन गईरहेको राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा सिन्धुपाल्चोकका रामचन्द्र तामाङ सहभागि हुँदै छन् ।
उनले फिटनेश ग्यारोज काठमाण्डौबाट सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि जनाएका हुन् । बैदेशिक रोजगारीको सिलसिलामा २०६५ सालमा साउदी अरेविया पुगेका उनी त्यहाँ रहँदादेखिनै शारीरिक सुगठनको क्षेत्रमा जोडिएका थिए । तामाङ पहिलोपटक प्रतियोगितात्मक मैदानमा उत्रिएका हुन् ।
जुगल गाउँपालिका– ७, याङ्लाकोटमा जन्मिएका रामचन्द्र पहिलो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा विजयी नविन रानामगरको विशेष सहयोगमा यो क्षेत्रमा आकर्षित भएको बताउँछन् । सिन्धुपाल्चोकमा जिम क्लब नभएको कारण काठमाण्डौबाट सहभागि भएको जनाउँदै तामाङले अबको लक्ष्य भनेको आफ्नो जिल्लामा यो खेलको विकास गर्ने रहेको जनाए । ‘सिन्धुपाल्चोकमा यो खेलको सम्भावना देखेको छु’, उनले भने– ‘यसको विकासको लागि लाग्ने सङ्कल्प लिएको छु ।’ यहि खेलबाट अन्र्तराष्ट्रिय क्षेत्रमा जिल्लाको पहिचान दिलाउने संकल्प लिएका तामाङले यो संकल्पलाई पूरा गर्न सबै खेलप्रेमि लागिपर्नुपर्ने बताए ।

काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा हुने प्रतियोगितामा मिस्टर काठमाडौंतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि प्रत्येक तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गराई पाँच जना खेलाडीलाई फाइनल चरणमा छनोट गरिने छ । हरेक तौलसमूह शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
समूहगत विजेता खेलाडीबीच पुनः प्रतिस्पर्धा पछि समग्रमा पहिलो हुने खेलाडीले ‘मिष्टर काठमाडौं’ को उपाधि जित्नेछ । उपाधिसँगै मिस्टर काठमाडौंले एक लाख ५० हजार रुपैयाँ र ब्यानेट प्राप्त गर्नेछ ।
प्रतिकृया