शक्तिशाली कविताः अँध्यारोको सौन्दर्य

शक्तिशाली कविताः अँध्यारोको सौन्दर्य  
शक्तिशाली कविताः अँध्यारोको सौन्दर्य

मैले तिमीलाई चिनेको त
अँध्यारोमै हो ।

हिउँदको पहिलो हिउँ फुलेको रात
परेली वरिपरि प्रेमिल चमक बोकेर
मेरो आँखाको छेवैबाट जसरी
न्यानो मुस्कान छाडेर गएका थियौ
उही दिन देखि
मलाई मन पर्न थालेको हो अँध्यारो

कसरी भुलुँला र,
आमाको अन्तिम प्रशव चित्कारसँगै
मेरो मुखबाट निस्किएको पहिलो च्याहाँ च्याहाँ
र त्यसपछि परिवारको अनुहारमा फुलेको मुस्कान
यी सबै अँध्यारोमै भएका थिए ।
र कसरी भुलुँला,
आकासबाट तारा झर्दै गर्दा
अन्जुलीभरि थाप्दै मेरो पहिलो प्रेमिकाले
शीरमा लगाईदिएको
र जनम् जनम् साथको भाकल गरेको
यी सबै अँध्यारोमै भएका थिए ।

मलाई कहिल्यै याद् छैन
उज्यालोको याद्हरु

मेरी आमाले–
मेरो काखमा शीर राखेर
आफ्नो अन्तिम स्वास छोडेको अँध्यारोमै हो

बा ले–
मेरो लागि सपनाहरु किन्न
आफ्नै सपना बेचे
तर उनका निक्कै सस्ता सपनाहरु पनि
विपना हुन नसकेपछि
विस्तारै आँशु झारेको अँध्यारोमै हो

मेरी प्रेमिकाले–
कुनै दिन मेरो ओठमा पहिलो चुम्मन गरेकी थिई
र हत्केलाभरि प्रेमका रेखा कोरेर छुटेकी थिई
त्यसपछि कहिल्यै फर्किएकी छैन
बल्झी बल्झी आईदिने याद्लाई सम्झेर
म टोलाईरहने पनि अँध्यारोमै हो

मलाई यति धेरै प्रेम गर्छ कि अँध्यारो
र त म पनि उत्तिकै प्रेम गर्छु

प्रियजनहरु,
खास सौन्दर्य त
अँध्यारोमा हुन्छ ।

अँध्यारोमै रोपिन्छ जीवनको पहिलो बीऊ
अँध्यारोमै फुल्छ आकासभरि तारा
र अँध्यारोमै बाटो कोर्छ जुनकिरी

लाग्छ– अँध्यारोहरु कहिल्यै नथाकोस्
र नहिँडोस् चराहरुले साइवेरिया छोडेर
दूर कतै गएसरि
कालो चमक बोकेर धर्तिबाट
र त्यसैगरि नच्यात्तियोस्
स्मृतिमा अल्झिएको याद्को पुरानो एल्बम ।

अँध्यारोमा बसेर
अँध्यारोको सौन्दर्य नियालिरहँदा
यदाकदा म सोच्ने गर्छु
अँध्यारो नभईदिने हो भने
साँच्चै संसार कत्ति अँध्यारो हुने थियो ।
०००

React on this Post

ट्रेन्डिङ