फिक्सन : प्रेम कथा

फिक्सन : प्रेम कथा  
फिक्सन : प्रेम कथा

"मेरो लव स्टोरी लेख्नुस् न।" - बीसबाइस वर्षको चिनेको अपरिचित फुच्चेले भन्यो।

-"कति रुपैयाँ दिन्छौ?"

-"पैसाको कुरा कसरी आयो? लेख्ने भए सुनाउंछु। "

फेसबुकमा डिसेम्बर 20, 2017 मा कुन्नि के झोंकमा पोस्ट गरेको 177 शब्दको मेरो शब्दखेल 'आदर्श' पढेर यस्तो प्रस्ताव गरेको रहेछ।

-" छोयो भने लेख्छु। " तर छोएन।

उसको असफल प्रेम कथा चल्तीको सेडक्सनको भद्दा नमुना थियो। उसले उदासी, कविता, एक्लोपनको माधुर्यता केही पनि चिनेको छैन। अर्को मान्छेलाई आफूजस्तै नदेख्नुको भयंकर तीतोपनले उसलाई जकडेको थियो। ऊ हरहालमा विजयको झण्डा गाड्न चाहन्छ। 'विचरा' भन्दा एक स्तर मुनि। ऊ सफल भएको भए एकदम नराम्रो लाग्ने थियो। हारेर ठीकै भयो।

घर आएर डायरी पल्टाएं।

सन् 2014, अक्टोबर 12 –

"उसले छोडेको रित्तोपन चेयरमा त्यत्तिकै छ। लाइब्रेरीको हरेक पुस्तकले मौन हेरिरहेका छन्। भुइँमा हरियो रुमाल छ। त्यसलाई लिन ऊ करिब पाँच मिनेटपछि मात्र आई। म दोस्तोयेव्स्कीको 'पोअर फोल्क' उपन्यासमा दोबोस्किन क्षयरोगले मरिरहेको पढ्दै छु। गरिबीको क्रूर बाध्यताले लतारिएकी बार्बाराले धनी व्यापारीसंग विहे गर्ने निश्चित भैसकेको छ। दोबोस्किन मर्नुअघि बार्बाराले पतिसँग आफ्नो घर गएको हेर्न चाहन्छ। ऊ एकदमै दुःखको गर्तमा जाकिंदा पनि प्रिय बार्बाराको लागि हृदयको हरेक कोषकोषदेखि चरम खुसी भएको छ। र मेरो छेउमा शान्त उभिएकी ऊ सुस्तरी भन्छे 'रुमाल भुलेछु।' र निर्दोष मुस्कुराउंछे। मलाई एकदम मन पर्छ त्यो मुस्कान। मौन उसको पछिपछि लाइब्रेरीको भर्याङ ओर्लिदा मनभरि त्यो मुस्कान जादु जस्तो लाग्छ। उसलाई बस चढाएपछि म दोबोस्किन हुन्छु।"

र सांच्चै नै दोबोस्किन नै बनिरहन्छु। आज पर्यन्त।

सन् 2015, जुन 4-

-"सर, त्यो सांझ झरीमा मेरो शरीर मात्र भिजेन। म हुनुको रेसारेसा शीतल भएर भिज्यो। जीवनमा पहिलोपटक मैले प्रेम के हो बुझें। "

सफा प्रेमबारे मिल्ने एक जना साथीको इमान्दार कुराले चिया पसलमा त्यो साँझ म पनि भिजेर शीतल भएं। महिला हुनुको पृथक विवशता माथि उसले कुनै अफ्ठेरो प्रश्न उठाएन। उनलाई परिवार र समाजको पक्षमा आफ्नो निर्णय लिने स्वतन्त्रता दियो। उसले गरेको प्रेमको उपहार मानेर। प्रियतमा दिएर स्वच्छ यादहरू लियो र जीवनको तीतोपन मीठो बनाउने प्रेमील स्मृतिको कोठा संजायो मनको एउटा नरम भागमा। वाह! त्यस दिन ऊ मेरो सम्मानको स्केलमा एकैचोट त्यस दिन ऊ मेरो सम्मानको स्केलमा एकैचोटि सबैभन्दा माथि चढ्यो।

सन् 2018, मार्च 12-

"सुशील सरको 'बार्दली' कथा पढेर एकचोटि ताजा पखालिएं। बार्दलीमा बसेर जीवनको सपना सजाउन मग्न युवतीको डायरी लुकेर पढ्न मन लाग्यो। उसको निर्दोष खुशी पलभरको थियो। त्यसैले कति गाढा थियो। उसले विद्रोह पनि गरी। तर कोमल सपनाहरु च्यातेर आफैंलाई बिर्सिएर बाआमाले भनेको ठाउँमा विहे नगर्न सक्दिनथी। ऊ गइसकेपछिको प्याराग्राफमा मुर्दा शान्ति महसुस भयो। चाडपर्वमा माइती घर आउंदा ऊ बार्दलीमा टोलाएर सायद च्यातिएको सपनाहरुको याद बटुल्ने उदास प्रयास गर्छे। केही वर्षपछि मपात्रले खचाखच भरिएका बसमा उसलाई बच्चा बोकेर उभिएको देख्छ। देख्छ ऊ अब पूरै बदलिएकी छे। त्यो निर्दोष चन्चलता छैन। र उसको एकजोर थामिएको आंखाले चिच्याउँदै देखाइरहेको छ - ऊभित्र केही मरेको छ।

सुशील सरको बार्दलीको युवती विहे गरेर जानुअघि म प्रेममा परें उनीसँग। पछिल्ला प्याराग्राफ डराइडराइ मुस्किलले पढे। पहिलो पटक उनलाई त्यही कथामा भेटें। र तिनले डायरीमा मेरै बारेमा लेखेकी थिइन्। जुन च्यातिइसक्यो। हाम्रो भेट कहिल्यै भएन।

त्यसैले मलाई ह्याप्पी लव स्टोरी पटक्कै मन पर्दैन।

***

React on this Post

ट्रेन्डिङ