सुत्केरीको ब्यथा जस्तै थल्लिएको देशको कथा धेरै लेखे तर ....

सुत्केरीको ब्यथा जस्तै थल्लिएको देशको कथा धेरै लेखे तर ....  
सुत्केरीको ब्यथा जस्तै थल्लिएको देशको कथा धेरै लेखे तर ....

बुबा हजुर!!
आमाको कथा धेरै लेखे
मायाको कथा धेरै लेखे
आफ्नै कथा धेरै लेखे
सुत्केरीको ब्यथा जस्तै थल्लिएको देशको कथा धेरै लेखे
तर 
आज म बाबाको कथा लेख्दैछु।
घुडॉ र कुईनाको खालो जाने गरी हिड्न खोज्ने मलाई 
ताँते ताँते बनाएर हिडाउन सिकाउने हजुर
आफु आधा पेट् बसेर रम्बा चाउचाउ जस्तै 
भोकले बटारिएको पेट भरी दिने हजुर
छिनेको चप्पलमा लयाक्टो चक्लेटको खोस्टा तन्काएर
बनाएको हात्ती छाप चप्पलको तुना फेरिदिने हजुर
नितम्बमा च्यातिएको जांगे बाट हावा छिरेर 
शरीर दुखेको पत्तै नलाग्ने गरी 
बाउरीएर चिसोले चिमोटी रहदा
उधारोमा नया जांगे फेरिदिने हजुर
फाटेको मन फाटेको झोलामा केटुकीको लोटी बनाएर 
पाना सकिएको कपी,मसी सकिएको कलम बोकेको देखेर
असोजको चरर् फुटेको बाजो बारी जोतेको गोरूको काध जस्तै
हातमा फोरा फुटेर ठेला पर्ने गरी निमेख गरेर
कपी,कलम किनिदिने हजुर
स्कुलको शुल्क तिर्न नसक्दा
पटक पटक सरले हाजिरै नगरी घर फर्काईदिदा 
आमालाई माईतीले गदुवामा दिएको तामाको ताउली बेचेर 
शुल्क तिरी स्कुल जाने बातावरण बनाई दिने हजुर
छिमेकीमा राम्रो बन्न आफ्नै बास बन्धकीमा राखेर
बिहे दान गरिदिने हजुर
अझै भनौ,अन्धालाई ज्योती दिए पछि जस्तै
पुरै संसार देखाईदिने हजुर
हजुरको जस्तै मन भएको छाती दिएर
आखीर मलाई हजुर जस्तै हुन् सिकाउने हजुर
सधै बराबर सम्झिरहने हजुरलाई
आज त्यो भन्दा अलि बेसी सम्झिएको छु 
किन की 
आजै को दिन त होनी हजुरले हामीलाई छोडेको!!!
आजै को दिन त होनी हजुरले अन्तिम सास फेरेको!!

                               लेखक -जितन भाइ श्रीस

React on this Post

ट्रेन्डिङ