"क्रान्तिको कात्रो र माटोको मलामी" अमृत भुर्तेल

"क्रान्तिको कात्रो र माटोको मलामी" अमृत भुर्तेल  
"क्रान्तिको कात्रो र माटोको मलामी" अमृत भुर्तेल

सौल, भदौ २५
क्रान्ति शब्द सुन्दैमा पनि मष्टिक्समा एक किसिमको तरङ्ग आउँछ । क्रान्ति शब्दलाई बुझ्दा र ब्याख्या मात्र गर्दा पनि परिबर्तनको सम्बाहकको रुपमा बुझ्ने गरिन्छ । आज सम्म संसारमा विभिन्न समयमा विभिन्न किसिमका क्रान्तिहरु भएर तिनीहरुले दिनु पर्ने रिजल्ट(परिवर्तन) दिएको सुनेको छु।

हाम्रो देशमा पनि विभिन्न समय काल खण्डमा विभिन्न किसिमका ठुला साना क्रान्तिहरु सफल भएका छन्। तर मलाई लाग्छकी क्रान्ति सफल भयो कि भएन भनेर मुल्याङ्गकन गर्ने सूचक क्रान्ति पछिको सकारात्मक परिवर्तन या भनौ नतिजा के दियो र दिदैछ भन्ने प्रश्नको उत्तरले दिने गर्दछ।
नेपालमा पनि वि. सं २००७ पछि विभिन्न किसिमका राजनीतिक परिवर्तन र क्रान्ति हरु भईराखेका छन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलन पछि क्रमश २०१७, २०३६, २०४६ साल हुदै २०६२ /६३ को जनान्दोलन सम्म अनेकौ राजनीतिक परिवर्तन नेपालि माटोले नपाएको होइन । राजनीतिक परिवर्तन हरु धेरै भएता पनि नेपालि माटो र जनताले चाहे जस्तो सम्बृदी र परिवर्तनको आभाष सम्म पनि कहिलै गर्न पाएनन् ।
विश्व मान चित्रमा मेरो देशको भूगोल सानो भए पनि यसको भौगोलिक बिबिधता, प्राकृतिक स्रोत, सौन्दर्यता, हावापानी, जिबजन्तु , जातजाति, भाषा, धर्म, संस्कृति र कलामा विविधता भएको कुरा विश्वलाई थाहा छ । र पनि हाम्रो देश किन यति धेरै गरिब, अभाब र पछाडी परेको छ भन्ने कुराले हरेक रात मलाई बिझाउने गर्छ।

वि. सं. २०५२ सालदेखि २०६२ साल सम्म देश अन्तरिक द्वन्दमा फस्यो । गरिब देश त्यसमाथि द्वन्दमा फस्दा झन् कसरि देशले टाउको उठाउन सक्थियो र ? गाउँ गाउँमा जनक्रान्तिको विगुल फुकियो , के गाउँ के शहर जताततै क्रान्ति बिस्तारै फैलिदै गयो । यसमा राज्य पक्ष र बिद्रोही पक्षको बिचमा बारुद र गोलीको लडाई सुरु भयो । गरिब , दुखी, पिछडिएको बर्गको उत्तथानका लागि भनेर क्रान्ति झन् झन् बढ्दै गयो ।
जनताले पनि क्रान्ति सफल बनाउन ज्यानको बलिदान लगाए । के बालक , के बृद्ध केहि नभनी क्रान्तिमा होमियो । यस बिचमा कतिले ज्यान गुमाए, कति अंग भंग भए, कतिले आफन्त गुमाए, बा आमा गुमाए, चेलीका सिन्दुर पुछिए, कति त अझै सम्म बेपत्ता नै छन् । राज्य पक्ष होस् या बोद्रोही पक्ष मारिने त हामी नेपाल आमाका सन्तति नै हौं । दश बर्ष सम्म चालेको द्वन्दले देशमा अपुरणीय मानविय र भौतिक क्षति जरुर भएको छ । यस क्रान्तिको साक्षी म पनि हुँ ।

यस्तैमा २०६२/२०६३ मा देशव्यापी जनाआन्दोलन सुरु भयो । देशै भरका जनताहरु सडकमा उत्रिए । १९ दिन सम्म चर्केको जनाआन्दोलनको शक्त्तिले २४० बर्ष अघि देखि शासन गरिरहेका शाह बंशका अन्तिम राजा बने ज्ञानेन्द्र शाहा । जनताको शक्तिले राजतन्त्रको समाप्त गर्दै नेपाल लाई संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक घोषणा गर्यो । मुलुकमा दुई /दुई पटक सम्म संबिधान सभाको चुनाव पनि भयो । नयाँ संबिधान जारि गर्नका लागि राजनीतिक पार्टीहरु बीच विभिन्न मुद्धाहरुमा सहमति जुटाउन धेरै समय लग्यो । ढिलै भए पनि दोस्रो संबिधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ असोज जारि गर्न सफल भयो।

देशमा यति धेरै राजनीतिक परिबर्तन आउँदा पनि देशले कहिलै सम्वृद्धिको स्वास फेर्न सकेन । शहिदका परिवारका आँशु कहिलै सुकेनन ।
होला क्रान्तिमा सबै कुरा जायज होलान, द्वन्दले सबैतिर बिनास गर्ला, तर तेसपछिको परिवर्तनले द्वन्दको घाउ जरुर पुर्नु पर्छ। क्रान्तिमा गरिएका सबै बलिदानहरु बिर्साउन सक्नु पर्ने थियो । शाहिदका सपनाहरु साकार हुनुपर्ने थियो । गरिब , दुखी, असहाय, पीछडिएका वर्ग सबैको उत्त्थान गर्नुपर्ने थियो । हजारौं शहिदहरुलाई सत्ताको भर्यांङ बनाएर आफु सत्तामा पुगेपछि सबैकुरा भुल्नु ठुलो जनघाट हो।
जनताको बलिदानको कदर गरेर जनभावना अनुसार काम गर्नु पर्ने थियो । तर नेपालि माटोले त्यो कहिलै पाउन सकेन । शहिदका आत्माले अहिले सम्म शान्ति पाउन सकेनन।

खुला सीमाको कारण पटक पटक देशको सिमाना छिमेकीले मिची राखेको छ । देशको राष्ट्रियता, स्वाभिमान,स्वाधीनता संग सिमाना जोडिएको हुन्छ । एक इञ्च मात्रै सिमाना मिचिनु भनेको राष्ट्रियतालाई कमजोर बनाउन खोजिएको हो । हाम्रा पुर्खाले रगत र पसिना बगाएर प्राण सुम्पिएर बचाएको हाम्रो धर्ति किन आज हामीलाई यति धेरै सस्तो भएको छ ? के हाम्रो सिमाना बचाउनु हाम्रो कर्तब्य होइन ? किन हामी केहि बोल्दैनौ ? कदम चाल्दैनौ ? सरकारले कडा सिमा सुरक्षा किन ल्याउन सक्दैन ? राष्ट्रिय स्वाधीनता सबैको बराबर होइन र ? हामीले किन यी कुराहरुलाई सजिलै लिइदिन्छौँ ? यी सबै प्रश्नहरु गर्न धेरै ढिला भैसकेको छ । तर अब एक राष्ट्रप्रेमी सचेत नागरिकले प्रश्न गर्ने र सोचनै पर्ने बेला भएको छ।

हो, समय अनुसार क्रान्तिको स्वरुप बदलिएला नै त्यो मा मान्दछु तर क्रान्ति कहिलै पनि मर्नु हुदैन । देश, राष्ट्रियता र स्वाभिमानको लागि समयले क्रान्ति जरूर जन्माई दिन्छ । अबको क्रान्ति पनि व्यबहार ,बिचार अनि कलमको हुनुपर्दछ । भ्रष्टाचार, देशद्रोही ,दलाल, निरङकुशताको विरुद्धमा अब हरेक देशभक्त्त नागरिक उभिनुको विकल्प छैन । अत: हाम्रो सिमानाको सुरक्षाको लागि सरकार र सम्पूर्ण नागरिकको बराबर दायित्व रहन्छ। प्रण यो गरौँ की, क्रान्तिको कात्रो ओढेर माटोको मलामी प्राण गएपनि कदापी जान सकिदैन।
                                                                                          जय देश
                                                                                       जय स्वाभिमान
                                                                                        अमृत भुर्तेल
                                                                                     हाल दक्षिण कोरिया

React on this Post

ट्रेन्डिङ