Headlines

अदालतको लेटरप्याड र दस्तखत कीर्ते गर्ने व्यक्ति पक्राउ

काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीश, श्रेस्तेदार तथा शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरी प्रयोग गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार गोरखा अजिरकोट गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका–३ बस्ने २६ वर्षीय बिबस अधिकारीलाई जेठ २५ गते काठमाडौं महानगरपालिका–११ सुन्धाराबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार अधिकारीले काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते गरी आफू प्रतिवादी रहेको मुद्दासम्बन्धी पत्र तयार पारेका थिए। उनले अदालतबाट अस्वाभाविक रूपमा सेवा शुल्क बुझाउन आदेश दिएको उल्लेख गर्दै अदालतका विभिन्न पदाधिकारीको दस्तखत र छापसमेत कीर्ते गरी कागजात प्रयोग गरेको आरोप छ।

अनुसन्धानका क्रममा अधिकारीले कीर्ते कागजातको आधारमा आफ्नो बैंक खातामा रहेको २ करोड १३ लाख रुपैयाँ रकम स्थानान्तरण हुनबाट रोकिएको तथा सेवा शुल्कबापत १ लाख ६ हजार ५०० रुपैयाँ बुझाउन आदेश दिइएको भन्ने व्यहोराका कागजात तयार पारेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अधिकारीबाट कीर्ते कागजातहरू समेत बरामद गरिएको सीआईबीले जनाएको छ। उनीमाथि लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *