यौन हिंसा नेपालमा महिलाविरुद्ध हुने सबैभन्दा गम्भीर हिंसामध्ये एक हो। कानुनी सुधार, जनचेतनाको विस्तार र संवैधानिक संरक्षणका व्यवस्था हुँदाहुँदै पनि बलात्कार तथा यौन दुर्व्यवहारका घटना समाजका विभिन्न तहमा निरन्तर देखिँदै आएका छन्। ललितपुर जिल्लामा आर्थिक वर्ष २०७९/८० देखि हालसम्मका घटनामाथि गरिएको एक समाजशास्त्रीय अध्ययनले यौन हिंसाको समस्या केवल आपराधिक मुद्दा मात्र नभई सामाजिक, सांस्कृतिक र संस्थागत चुनौतीसँग जोडिएको विषय भएको देखाएको छ।
नमुना मच्छिन्द्र क्याम्पसमा प्रस्तुत अध्ययनले प्रहरी अभिलेख, सञ्चारमाध्यमका सामग्री, विभिन्न संस्थाका प्रतिवेदन तथा सर्वेक्षणका आधारमा यौन हिंसाका प्रवृत्ति, उजुरी प्रक्रियामा देखिएका अवरोध तथा न्याय प्रणालीका चुनौतीहरूलाई विश्लेषण गरेको छ।
अध्ययनको प्रमुख निष्कर्षमध्ये एक भनेको रिपोर्ट भएका र रिपोर्ट नभएका घटनाबीचको ठूलो अन्तर हो। अध्ययनअनुसार धेरै यौन हिंसाका घटना प्रहरीसम्म पुग्दैनन्। सामाजिक कलंकको डर, लाज, पीडितलाई दोष दिने प्रवृत्ति, पारिवारिक दबाब तथा न्याय प्रणालीप्रतिको अविश्वासले धेरै पीडितलाई मौन बस्न बाध्य बनाएको छ।
अध्ययनका क्रममा सहभागी ३० जनामध्ये ८६.७ प्रतिशतले सामाजिक कलंक र लाजलाई उजुरी नदिनुको मुख्य कारण मानेका छन्। त्यसैगरी ७३.३ प्रतिशतले पारिवारिक दबाब र ६६.७ प्रतिशतले पीडितलाई नै दोष दिने सामाजिक प्रवृत्तिलाई प्रमुख अवरोधका रूपमा औँल्याएका छन्।
अध्ययनले बालिका तथा किशोरीहरू यौन हिंसाको उच्च जोखिममा रहेको पनि देखाएको छ। अध्ययनमा उद्धृत राष्ट्रिय तथ्यांकअनुसार ११ देखि १६ वर्ष उमेर समूहका बालिकाहरू सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्छन्। यौन हिंसाका पीडितमध्ये ६४ प्रतिशतभन्दा बढी नाबालिका रहेको तथ्यले बाल संरक्षण प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
बलात्कारका अधिकांश घटनामा आरोपी अपरिचित व्यक्ति नभई पीडितकै चिनजानका हुने गरेको अध्ययनले देखाएको छ। उद्धृत प्रहरी तथ्यांकअनुसार करिब ९२ प्रतिशत घटनामा आरोपी छिमेकी, आफन्त, साथीभाइ वा अन्य परिचित व्यक्ति रहेका छन्। यसले यौन हिंसाको जोखिम बाह्य वातावरणभन्दा बढी सामाजिक सम्बन्धभित्रै रहेको संकेत गर्छ।
न्याय प्राप्तिको प्रक्रियामा पनि पीडितहरूले विभिन्न कठिनाइ भोग्नुपरेको अध्ययनले देखाएको छ। अनुसन्धानका क्रममा संकलित धारणाअनुसार पीडितले असंवेदनशील व्यवहार, पटक–पटक बयान दिनुपर्ने अवस्था, लामो कानुनी प्रक्रिया तथा पर्याप्त सहयोगको अभाव जस्ता समस्याको सामना गर्नुपर्छ। यस्ता अनुभवले न्याय प्रक्रियामा सहभागी हुन झन् कठिन बनाउने गरेको अध्ययनको निष्कर्ष छ।
विशेषगरी सामाजिक, आर्थिक वा राजनीतिक प्रभाव भएका व्यक्तिहरू संलग्न घटनामा थप चुनौती देखिने अध्ययनले औँल्याएको छ। सर्वेक्षणका उत्तरदाताहरूका अनुसार यस्ता मुद्दा अनुसन्धान तथा प्रमाण सङ्कलनको चरणमै कमजोर बन्ने वा प्रभावित हुने सम्भावना बढी हुन्छ। दबाब, धम्की तथा प्रभावका कारण न्याय प्रक्रियामा अवरोध सिर्जना हुने धारणा अध्ययनमा सहभागीहरूले व्यक्त गरेका छन्।
सञ्चारमाध्यमको भूमिकालाई पनि अध्ययनले महत्त्वपूर्ण मानेको छ। जिम्मेवार पत्रकारिताले यौन हिंसाबारे जनचेतना फैलाउन र पीडितलाई आवाज दिन सहयोग पुर्याउन सक्छ। तर प्रभावशाली व्यक्तिसँग सम्बन्धित घटनामा समाचार सम्प्रेषणमाथि दबाब पर्न सक्ने तथा त्यसले सार्वजनिक धारणा निर्माणमा असर गर्न सक्ने अध्ययनले उल्लेख गरेको छ।
समाजशास्त्रीय दृष्टिकोणबाट अध्ययनले यौन हिंसालाई लैङ्गिक असमानता, पितृसत्तात्मक संरचना र असमान शक्ति सम्बन्धसँग जोडेर व्याख्या गरेको छ। अध्ययनका अनुसार बलात्कारलाई केवल व्यक्तिगत अपराधका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसका पछाडि समाजमा विद्यमान असमानता, कमजोर संस्थागत संरचना र शक्ति दुरुपयोगका पक्षहरू पनि उत्तिकै जिम्मेवार छन्।
अध्ययनको निष्कर्ष छ—यौन हिंसा न्यूनीकरणका लागि कडा कानुन मात्र पर्याप्त छैन। कानुनको प्रभावकारी कार्यान्वयन, पीडितमैत्री न्याय प्रणाली, साक्षी तथा पीडित संरक्षण, जनचेतना अभिवृद्धि, लैङ्गिक समानतामुखी शिक्षा तथा सामाजिक सोचमा परिवर्तन आवश्यक छ।
ललितपुरको सन्दर्भमा गरिएको यो अध्ययनले नेपालका अन्य जिल्लाहरूमा पनि देखिने यौन हिंसाका साझा चुनौतीहरू उजागर गरेको छ। पीडितले डर, लाज वा दबाबबिना न्याय खोज्न सक्ने वातावरण निर्माण गर्न सके मात्र यौन हिंसाविरुद्धको अभियान प्रभावकारी बन्न सक्ने अध्ययनले संकेत गरेको छ।
