नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार देवीचन्द्र जोशीसमेतको जाहेरीले नेपाल सरकार प्रतिवादी रहेको बैंकिङ कसूर र चेक अनादरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार फरार रहेका ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो।
साविक विष्णु गाउँ विकास समिति–८, काठमाडौंका स्थायी बासिन्दा तथा हाल बुढानीलकण्ठ नगरपालिका–५ बसोबास गर्दै आएका मिजारविरुद्ध १४ वटा मुद्दामा फैसला भएको थियो। अदालतले उनीबाट कुल २ करोड ५८ लाख ६३ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ६३५ रुपैयाँ जरिवाना र १ लाख ७२ हजार ९४४ रुपैयाँ क्षतिपूर्ति असुल गर्नुपर्ने फैसला गरेको थियो। साथै उनलाई ९० दिन कैद सजाय पनि तोकिएको थियो।
फरार रहेका मिजारलाई सीआईबीबाट खटिएको प्रहरी टोलीले जेठ २५ गते काठमाडौं महानगरपालिका–४, धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।
