वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा विदेशमा स्वरोजगारमा संलग्न व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध भएर स्वास्थ्य उपचारदेखि दुर्घटना, अशक्तता र परिवारको सुरक्षासम्मका विभिन्न सुविधा प्राप्त गर्न सक्छन्। नियमित योगदान गर्ने श्रमिकले आफू मात्र नभई परिवारका सदस्यका लागि समेत सामाजिक सुरक्षा योजनाको लाभ लिन सक्ने व्यवस्था छ।
तर, धेरै श्रमिकलाई कोषमा कसरी आबद्ध हुने, कति योगदान गर्नुपर्ने र आबद्ध भएपछि कस्ता सुविधा पाइन्छन् भन्नेबारे पर्याप्त जानकारी नहुन सक्छ।
कसरी आबद्ध हुने?
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने क्रममा नै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सकिन्छ। नयाँ श्रम स्वीकृति लिने वा पुनः श्रम स्वीकृति लिने श्रमिकले वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEIMS) मार्फत कोषमा सूचीकरण गर्न सक्छन्।
त्यस्तै, विदेशमा स्वरोजगारमा रहेका नेपाली नागरिकले सामाजिक सुरक्षा कोषको अनलाइन प्रणाली sosys.ssf.gov.np मा गएर स्वरोजगारतर्फको नयाँ दर्ता विकल्प छनोट गरी आबद्ध हुन सक्छन्।
सूचीकरण भएपछि योगदानकर्ता पोर्टलमा लगइन गरेर नियमित रूपमा योगदान रकम जम्मा गर्न सकिन्छ। योगदानको रकम तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकका आधारमा निर्धारण हुन्छ। यससम्बन्धी विस्तृत जानकारी कोषको वेबसाइटबाट लिन सकिन्छ।
के–के सुविधा पाइन्छन्?
कोषमा आबद्ध भएपछि श्रमिकले स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत विभिन्न सुविधा पाउँछन्।
स्वास्थ्य उपचारतर्फ योगदानकर्ता, उनका पति वा पत्नी तथा १८ वर्ष नपुगेका छोराछोरीले वार्षिक २५ हजार रुपैयाँसम्म बहिरंग (ओपीडी) उपचार सुविधा पाउँछन्। अस्पताल भर्ना भएर उपचार गर्नुपरेमा प्रतिवर्ष एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध हुने व्यवस्था छ।
त्यस्तै, नेपालका अस्पतालमा दुर्घटनाका कारण उपचार गराउनुपरेमा सात लाख रुपैयाँसम्म खर्च भुक्तानी हुने व्यवस्था छ।
दुर्घटना वा अन्य कारणले अस्थायी रूपमा पूर्ण अशक्त भई काम गर्न नसक्ने अवस्थामा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत मासिक रूपमा प्राप्त हुन्छ। स्थायी आंशिक अशक्तताको हकमा अशक्तताको प्रतिशतका आधारमा जीवनभर पेन्सन र स्थायी पूर्ण अशक्तताको अवस्थामा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत जीवनभर मासिक पेन्सन पाउने व्यवस्था छ।
परिवारलाई पनि आर्थिक सुरक्षा
योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत जीवनभर पेन्सन पाउँछन्। अविवाहित योगदानकर्ताको हकमा भने तोकिएको व्यवस्थाअनुसार बाबुआमाले यस्तो सुविधा पाउन सक्छन्।
त्यस्तै, योगदानकर्ताका १८ वर्ष नपुगेका सन्तानले न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत मासिक शैक्षिक वृत्ति प्राप्त गर्न सक्छन्। बच्चा जन्मिएमा न्यूनतम आधारभूत पारिश्रमिक बराबरको शिशु स्याहार सुविधा र योगदानकर्ताको मृत्यु भएमा परिवारलाई अन्तिम संस्कार खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराइन्छ।
कहिले पाइन्छ सुविधा?
कोषको योजनाअनुसार सुविधा प्राप्त गर्न घटना घटेको अघिल्लो ६ महिनाभित्र कम्तीमा तीन महिनाको योगदान रकम कोषमा जम्मा भएको हुनुपर्ने व्यवस्था छ। त्यसैले कोषमा नाम दर्ता गरेर मात्र पुग्दैन, नियमित योगदान गर्नु पनि आवश्यक हुन्छ।
सुविधा तथा आबद्धतासम्बन्धी थप जानकारी सामाजिक सुरक्षा कोषको वेबसाइट www.ssf.gov.np वा टोल फ्री नम्बर १११६ मा सम्पर्क गरेर लिन सकिन्छ।
यसरी नियमित योगदानमार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू विदेशमा रहँदा मात्र नभई दुर्घटना, अशक्तता वा मृत्युजस्ता अप्रत्याशित अवस्थामा आफ्नो परिवारलाई समेत आर्थिक सुरक्षाको दायरामा राख्न सक्छन्।
