वाइफाइको विकास क्रम: समयसँगै गति र सटिकतामा छलाङ

वाइफाइ प्रविधिले पछिल्ला डेढ दशकमा तीव्र विकास गर्दै इन्टरनेट कनेक्टिभिटीको गति, क्षमता र विश्वसनीयतामा ठूलो फड्को मारेको छ। सन् २००९ मा सुरु भएको वाइफाइ ४ बाट अहिलेको अत्याधुनिक वाइफाइ ७ सम्म आइपुग्दा वायरलेस इन्टरनेट प्रविधि धेरै गुणा तीव्र र स्मार्ट बनेको छ।

सन् २००९ मा आएको वाइफाइ ४ (802.11n) ले अधिकतम ३०० एमबीपीएससम्मको सैद्धान्तिक गति प्रदान गर्थ्यो। यो मुख्यतः २.४ गिगाहर्ज ब्यान्डमा आधारित थियो र सामान्य इन्टरनेट प्रयोगका लागि भरपर्दो मानिन्थ्यो।

त्यसपछि सन् २०१३ मा वाइफाइ ५ (802.11ac) सार्वजनिक भयो। यसले ५ गिगाहर्ज ब्यान्ड प्रयोग गर्दै अधिकतम १.३ Gbps जीबीपीएससम्मको गति उपलब्ध गरायो। उच्च गति, राम्रो रेन्ज तथा एचडी भिडियो स्ट्रिमिङमा यसले सुधार ल्यायो।

सन् २०१९ मा आएको वाइफाइ ६ (802.11ax) ले वायरलेस नेटवर्कमा नयाँ स्तरको क्षमता थप्यो। २.४ गिगाहर्ज र ५ गिगाहर्ज दुवै ब्यान्डमा काम गर्ने यो प्रविधिले अधिकतम ९.६ जीबीपीएस सम्मको गति प्रदान गर्न सक्ने बताइन्छ। यसमा एमयू-एमआईएमओजस्ता प्रविधि समावेश गरिएकाले धेरै उपकरण एकैपटक जडान हुँदा पनि नेटवर्क स्थिर रहने क्षमता बढेको थियो।

यसको एक वर्षपछि वाइफाइ ६ई सार्वजनिक भयो, जसले पहिलोपटक ६ गिगाहर्ज ब्यान्डलाई समर्थन गर्‍यो। नयाँ ब्यान्डका कारण नेटवर्क हस्तक्षेप कम हुनुका साथै सुरक्षा र प्रदर्शनमा सुधार आएको मानिन्छ।

हालको सबैभन्दा नयाँ मानक वाइफाइ ७ (802.11be) हो, जुन सन् २०२४ देखि विस्तारै बजारमा प्रवेश गरिरहेको छ। यसले अधिकतम ४६ जीबीपीएससम्मको सैद्धान्तिक गति दिन सक्ने दावी गरिएको छ। वाइफाइ ७ ले २.४ गिगाहर्ज, ५ गिगाहर्ज र ६ गिगाहर्ज तीनै ब्यान्ड समर्थन गर्छ। कम लेटेन्सी, अति उच्च गति तथा गेमिङ, ८के भिडियो स्ट्रिमिङ, भर्चुअल रियालिटी (भीआर) लगायतका उच्च डेटा आवश्यक पर्ने सेवाका लागि यो उपयुक्त मानिएको छ।

प्रविधि विज्ञहरूका अनुसार नयाँ पुस्ताको वाइफाइको पूर्ण लाभ लिन राउटर र उपकरण दुवैले सोही मानक समर्थन गर्नुपर्छ। उदाहरणका लागि, वाइफाइ ७ समर्थित स्मार्टफोन भए पनि पुरानो राउटर प्रयोग गरिएको अवस्थामा अधिकतम गति प्राप्त नहुन सक्छ।

इन्टरनेटमा बढ्दो निर्भरता, स्मार्ट उपकरणको विस्तार र उच्च गुणस्तरको डिजिटल सामग्रीको मागसँगै वाइफाइ प्रविधि अझ तीव्र र सक्षम बन्दै जाने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *