Headlines

कोन्ज्योसोम तामाङ पदमार्ग प्रवर्द्धनका लागि पदयात्रा कार्यक्रम आयोजना हुने

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा रहेको ‘तामाङ पदमार्ग’को प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम आयोजना गरिने भएको छ।

कोन्ज्योसोम गाउँपालिका, नेपाल पर्यटन बोर्ड र कोन्ज्योसोम धार्मिक पर्यटन विकास समितिको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रम २०८३ जेठ ३० र ३१ गते सञ्चालन हुने जनाइएको छ।

आयोजकका अनुसार प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा तामाङ समुदायको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम आयोजना गर्न लागिएको हो। समुद्री सतहबाट करिब २ हजार ६ सय मिटर उचाइसम्म पुग्ने तामाङ पदमार्गबाट लाङटाङ, जुगल र गौरीशंकर हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ।

पदयात्रा जेठ ३० गते बिहान भट्टेडाँडाबाट सुरु भई कोन्ज्योसोम–पालुङखोला–बतासे हुँदै कालेश्वर पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि सहभागीहरू भट्टेडाँडा फर्किनेछन्। सोही दिन कोन्ज्योसोम प्रतिमाको उद्घाटन समेत गरिने जनाइएको छ।

जेठ ३१ गते कार्यक्रमको समीक्षा तथा विदाइ कार्यक्रम आयोजना गरिनेछ।

आयोजकले तामाङ समुदायको जीवनशैली, लोकसंस्कृति, ऐतिहासिक पहिचान र क्षेत्रको पर्यटन सम्भावना उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमका लागि आर्थिक सहयोग कोन्ज्योसोम गाउँपालिका र नेपाल पर्यटन बोर्डले गरेका छन्। आयोजकका अनुसार पदयात्राले क्षेत्रको पर्यटन विकास, जैविक विविधता संरक्षण तथा स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *