बैतडीमा गाउँकै विद्यालयमा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका प्राविधिक धारतर्फका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नआउँदा ती विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। प्राविधिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा शिक्षा विभाग, सिटिइभिटी र विद्यालयको करोडौंको लगानी खेर जाने अवस्थामा छन्।
बैतडीका १० वटा स्थानीय तहमा प्राविधिक विषयको पठनपाठन गर्ने अनुमति पाएका शिक्षा विभाग अन्तर्गत सात वटा र सिटिइभिटीका ११ गरेर कुल १८ वटा प्राविधिक विषयको पढाइ हुने माध्यमिक विद्यालय छन्। यहाँ सूचना प्रविधि कम्युटर इन्जिनियरिङ, बाली विज्ञान, पशु विज्ञान, सिभिल इन्जिनियरिङको पढाइ हुने भए पनि अध्ययन गर्ने विद्यार्थी छैनन्।
सिटिइभिटीबाट तीनबर्से कृषि जेटिएको अध्यापन गर्ने अनुमति पाएको मणिलेक मावि गुरुखोलाले विद्यार्थी नपाउँदा बन्द भएको प्रधानाध्यापक धीरबहादुर मडैले बताए। उनले राम्रो जिपिए ल्याउने विद्यार्थी गाउँमा नबस्ने र कमजोरले पढ्न नसक्ने भएकाले विद्यार्थी नै नभएर कक्षा बन्द भएको बताए। उनले सिटिइभिटीले अनुदान नदिने भएकाले निजी स्रोतबाट शिक्षण गर्नुपर्ने बाध्यताले पनि स्रोतले धान्न नसक्दा पढाइ बन्द भएको स्पष्ट पारे।
यता शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट विषयगत शिक्षकको तलब सुविधा पाए सिभिल इन्जिनियरिङको पढाइ गर्दै आएको मणिलेक मावि काँडा मेलौलीमा समेत विद्यार्थी छैनन्। ४८ जना विद्यार्थीको कोटामध्ये यो वर्ष जम्मा नौ जना विद्यार्थी मात्र अध्ययनरत रहेको प्रधानाध्यापक देवदत्त कलौनीले बताए।
उनले भने, “प्राविधिक धारतर्फ ल्याब सामग्री र विषयगत शिक्षकसहित नौ जना दक्ष जनशक्ति भएर पनि अध्ययन गर्ने विद्यार्थी पाउन सकेका छैनौं।” मणिलेक मावि काँडाबाट २०६२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३८ जिपिएसम्म ल्याउने विद्यार्थी थिए तर तो विद्यार्थी सहर पलायन भए । घरआँगनमै प्राविधिक विषयको पढाइ हुने विद्यालयप्रति भरोसा गर्न सकेनन्।”
कक्षा १२ सम्मको शिक्षाको जिम्मेबारी स्थानीय तहको हुने भनिए पनि स्थानीय सरकारबाट प्राविधिक विषयको पढाइका सन्दर्भमा कुनै सहयोग नपाएको प्रधानाध्यापक कलौनीले गुनासो गरे। उनले स्थानीय सरकारबाट उल्टै शिक्षकलाई सरुवाका नाममा तनाव दिने काम भइरहेको गुनासो गरे। https://www.youtube.com/watch?v=-4j_whHdpog
गोरखापत्र
