विश्वकै चर्चित वैज्ञानिकलाई सन् १९५२ मा इजरायलको सर्वोच्च पदको प्रस्ताव आएको थियो, तर आफ्नै सीमाको कुरा गर्दै आइन्स्टाइनले नम्रतापूर्वक अस्वीकार गरेका थिए
विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई कहिल्यै राजनीतिमा सक्रिय नेताको रूपमा कल्पना गरिएको थिएन। तर इतिहासको एउटा रोचक मोडमा उनलाई Israel को राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो। अझ रोचक कुरा के भने, आइन्स्टाइनले त्यो प्रस्ताव विनम्रतापूर्वक अस्वीकार गरेका थिए।
सन् १९४८ मा इजरायलले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेपछि देशको पहिलो राष्ट्रपति बनेका थिए चाइम वेइजमान। उनी पनि वैज्ञानिक नै थिए। तर सन् १९५२ मा वाइज़म्यानको निधन भएपछि नयाँ राष्ट्रपतिका लागि विश्वकै चर्चित वैज्ञानिक आइन्स्टाइनको नाम अगाडि आयो।
त्यतिबेला ७३ वर्षका आइन्स्टाइन अमेरिकाको इन्स्टिच्युट फर एडभान्स्ड स्टडीमा काम गरिरहेका थिए। इजरायलका तत्कालीन प्रधानमन्त्री डेभिड बेन-गुरिएनको तर्फबाट अमेरिकास्थित इजरायली राजदूत अब्बा एबानले आइन्स्टाइनलाई पत्र पठाएका थिए। पत्रमा भनिएको थियो—“इजरायल सानो देश हुन सक्छ, तर यहूदी सभ्यताको आध्यात्मिक र बौद्धिक विरासतका कारण यो महान बन्न सक्छ।”
तर आइन्स्टाइनको उत्तर निकै नम्र थियो। उनले लेखेका थिए—“म यो प्रस्तावबाट सम्मानित महसुस गरिरहेको छु, तर दुःखका साथ भन्नुपर्छ, म यो जिम्मेवारी स्वीकार गर्न सक्दिनँ।”
आफ्नो निर्णयको कारण खुलाउँदै उनले भनेका थिए—“मेरो सम्पूर्ण जीवन विज्ञान र तथ्यसँग सम्बन्धित विषयमा बित्यो। मानिसहरूलाई नेतृत्व गर्ने वा सरकारी जिम्मेवारी सम्हाल्ने अनुभव र स्वाभाविक क्षमता मसँग छैन।”
यद्यपि आइन्स्टाइनको यहूदी समुदायसँग गहिरो सम्बन्ध थियो। उनी यहूदीहरूको राष्ट्रिय पहिचानको पक्षमा उभिने जियोनिस्ट आन्दोलनसँग जोडिएका थिए। तर उनको दृष्टिकोण कट्टर थिएन। उनले अरब र यहूदी समुदायले समान अधिकारसहित एउटै भूभागमा सहअस्तित्व खोज्नुपर्ने विचार राख्ने गरेको बीबीसीहिन्दी।
इजरायल स्थापना भएपछि पनि आइन्स्टाइनले त्यहाँ भइरहेका राजनीतिक घटनाक्रम नजिकबाट हेरिरहेका थिए। केही अतिवादी गतिविधिको उनले सार्वजनिक रूपमा आलोचना समेत गरेका थिए। यही कारण उनलाई कसैले इजरायल समर्थक त कसैले आलोचकका रूपमा पनि व्याख्या गरे।
इतिहासकारहरूका अनुसार आइन्स्टाइनलाई राष्ट्रपति बन्न प्रस्ताव गर्नुको उद्देश्य केवल नेतृत्व चयन मात्र थिएन। नयाँ बनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप वैधता र बौद्धिक प्रतिष्ठा दिलाउने प्रयास पनि त्यससँग जोडिएको थियो।
तर आइन्स्टाइनले राजनीति होइन, विज्ञान र मानवताको बाटो रोजे। अन्ततः राष्ट्रपति बने यित्जाक बेन-ज्वी।
आज पनि यो प्रसंग इतिहासको एउटा अनौठो मोडका रूपमा सम्झिन्छ—जहाँ विश्वलाई सापेक्षताको सिद्धान्त बुझाउने वैज्ञानिकलाई एउटा राष्ट्रले सर्वोच्च राजनीतिक जिम्मेवारी दिन खोज्यो, तर उनले आफ्नो सीमालाई स्वीकार गर्दै त्यो अवसरलाई शान्त ढंगले अस्वीकार गरे।
