३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण गरिँदै, गोदावरी–९ का बासिन्दालाई रकम जम्मा गर्न आग्रह

ललितपुर, असार १८ – गोदावरी नगरपालिका–९ ले ३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण कार्यक्रमअन्तर्गत इच्छुक स्थानीय बासिन्दालाई निर्धारित रकम जम्मा गर्न आग्रह गरेको छ।

वडा कार्यालयले सोमबार सूचना जारी गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, काठमाडौं र वडा कार्यालयबीच भएको सम्झौताअनुसार ७० प्रतिशत अनुदान तथा ३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण गरिने जनाएको हो।

सूचनाअनुसार वडा नं. ९ को क्षेत्रभित्र स्थायी बसोबास गर्ने इच्छुक व्यक्ति तथा परिवारले विद्युतीय चुलो प्राप्त गर्न आवश्यक कागजातसहित तोकिएको रकम वडा कार्यालयमा बुझाउनुपर्नेछ। उपभोक्ताको तर्फबाट ३० प्रतिशत लागत साझेदारी वापत रु १ हजार २ सय ३३ जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

रकम तथा आवश्यक कागजात बुझाउने अवधि असार १८ गतेदेखि असार २२ गतेसम्म कार्यालय समयभित्र तोकिएको छ। रकम बुझाउने समय बिहान १०ः३० बजेदेखि बेलुका ४ः४५ बजेसम्म निर्धारण गरिएको छ। वडा कार्यालयका अनुसार रकम र कागजात बुझाउनका लागि वडा सदस्य जमुना बलकोटी लाई सम्पर्क व्यक्ति तोकिएको छ। यसका लागि सम्पर्क नम्बर ९८०३८००११० उपलब्ध गराइएको छ।

विद्युतीय चुलो प्राप्त गर्न इच्छुक लाभग्राहीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। वडा अध्यक्ष आत्माराम थापा क्षेत्रीले विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको भन्दै निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *