तपाईंले अनलाइन भिडियो हेर्दा, लेख पढ्दा वा फाइल डाउनलोड गर्दा तपाईंको नेटवर्क इन्टरफेस र सर्भरबीच आईपी ठेगाना भनिने विशिष्ट संख्यात्मक पहिचानका आधारमा सञ्चार हुन्छ। इन्टरनेट जडान लिएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले तपाईंको राउटरको वान (WAN) अर्थत् वाइड एरिया नेटवर्क पोर्टमा एउटा विशिष्ट सार्वजनिक आईपी ठेगाना उपलब्ध गराउँछ। यही सार्वजनिक आईपी ठेगानाले तपाईंलाई इन्टरनेट प्रयोग गर्न र इन्टरनेटमा रहेका सर्भरहरूलाई तपाईंको नेटवर्कसम्म पुग्न मद्दत गर्छ।
घरको नेटवर्कमा जोडिएका फोन, कम्प्युटर र स्मार्ट होम उपकरणहरू राउटरमा सार्वजनिक ठेगानामार्फत नभई निजी आईपी ठेगानामार्फत जोडिन्छन्। निजी आईपी ठेगाना भएका उपकरणहरूले एकअर्कासँग सञ्चार गर्न सक्छन्, तर सीधै इन्टरनेटमा पहुँच पाउँदैनन्। त्यसका लागि उनीहरू राउटरमा निर्भर रहनुपर्छ। त्यसैगरी, निजी नेटवर्कबाहिर रहेका उपकरणहरूले निजी आईपी ठेगाना प्रयोग गरिरहेका उपकरणसँग सीधै सञ्चार गर्न सक्दैनन्। यही कारण तपाईंको छिमेकीले आफ्नो उपकरणबाट तपाईंको घरको प्रिन्टरमा प्रिन्ट गर्न अनुरोध पठाउन सक्दैन।
सार्वजनिक र निजी आईपी ठेगानाबीचको फरक बुझ्न सार्वजनिक आईपी ठेगानालाई घरको ठेगाना र निजी आईपी ठेगानालाई घरभित्रका कोठा वा फ्ल्याट नम्बरका रूपमा लिन सकिन्छ। राउटरमा जोडिएको प्रत्येक उपकरणलाई छुट्टै निजी आईपी ठेगाना दिइन्छ। घरको नेटवर्कमा समस्या आएमा त्यसमा जोडिएका उपकरणको आईपी ठेगाना पत्ता लगाउन जान्दा समस्या पहिचान र समाधान गर्न सजिलो हुन्छ।
सार्वजनिक र निजी आईपी ठेगाना कसरी पत्ता लगाउने ?
सार्वजनिक आईपी ठेगाना पत्ता लगाउने सबैभन्दा छिटो तरिका WhatIsMyIPAddress र ifconfig.me जस्ता अनलाइन आईपी जाँच गर्ने वेबसाइट प्रयोग गर्नु हो। यसका लागि राउटरमा जोडिएको जुनसुकै उपकरण प्रयोग गर्न सकिन्छ। तर त्यसमा वेब ब्राउजर चल्न सक्ने सुविधा हुनुपर्छ।
निजी आईपी ठेगाना पत्ता लगाउन राउटरको कन्ट्रोल प्यानल प्रयोग गर्न सकिन्छ। त्यहाँ घरको नेटवर्कमा जोडिएका उपकरणहरूको सूची र तिनका निजी आईपी ठेगाना हेर्न सकिन्छ। तर कुन आईपी ठेगाना कुन उपकरणको हो भन्ने पहिचान गर्न यो विधि सधैँ पर्याप्त नहुन सक्छ। किनभने सबै उपकरण निर्माताले होस्टनेम उपलब्ध गराएका हुँदैनन्।
यदि राउटरको कन्ट्रोल प्यानलमा कुनै उपकरणको होस्टनेम देखिएन भने पनि त्यसको आईपी ठेगाना पत्ता लगाउने अन्य उपाय छन्। उदाहरणका लागि, विन्डोज कम्प्युटरमा ‘ipconfig’ कमान्ड चलाएर IPv4 ठेगाना हेर्न सकिन्छ। यही कम्प्युटरको निजी आईपी ठेगाना हो।
म्याकओएसमा वाइफाइका लागि ‘ipconfig getifaddr en0’ र इथरनेटका लागि ‘ipconfig getifaddr en1’ कमान्ड चलाउँदा कम्प्युटरको निजी आईपी ठेगाना देखिन्छ।
आईफोनमा निजी आईपी ठेगाना पत्ता लगाउन Settings मा गएर Wi-Fi खोल्नुपर्छ। त्यसपछि आफू जोडिएको वाइफाइ नेटवर्कको छेउमा रहेको ‘i’ बटन थिचेर तल IPv4 खण्डमा जानुपर्छ। त्यहाँ आईफोनको निजी आईपी ठेगाना देखिन्छ।
त्यसैगरी, एन्ड्रोइड उपकरणमा Settings मा गएर Network and internet, त्यसपछि Internet खोल्नुपर्छ। आफू जोडिएको नेटवर्कमा थिचेर तल जाँदा उपकरणको निजी आईपी ठेगाना देखिन्छ।
सार्वजनिक र निजी आईपी ठेगानाले घरको नेटवर्कमा पार्ने प्रभाव
सार्वजनिक आईपी ठेगानाले इन्टरनेटमा तपाईंको नेटवर्कको पहिचान गर्छ भने निजी आईपी ठेगानाले घरको नेटवर्कमा जोडिएका उपकरणहरूको पहिचान गर्छ। घरको नेटवर्कमा प्रत्येक उपकरणको आफ्नै निजी आईपी ठेगाना भए पनि राउटरले ती सबै उपकरणलाई इन्टरनेट प्रयोग गर्दा एउटै सार्वजनिक आईपी ठेगाना साझा गर्न दिन्छ।
यो प्रक्रिया नेटवर्क एड्रेस ट्रान्सलेसन (NAT) नामक नेटवर्क राउटिङ प्रणालीमार्फत सम्भव हुन्छ। यसले निजी नेटवर्कका उपकरण र इन्टरनेटबीच हुने सञ्चार व्यवस्थापन गर्न राउटरलाई मद्दत गर्छ।
घरायसी नेटवर्कमा सामान्यतया 192.168.X.X दायराको निजी आईपी ठेगाना प्रयोग हुन्छ। तर इन्टरनेट असाइन्ड नम्बर्स अथोरिटी (IANA) ले ठूला र मध्यम आकारका संस्थाका लागि क्रमशः 10.X.X.X र 172.16.X.X दायराका निजी आईपी ठेगाना पनि छुट्याएको छ।
सार्वजनिक र निजी आईपी ठेगाना चिन्न जान्दा घरको नेटवर्कमा जोडिएका उपकरण पहिचान गर्न र इन्टरनेट जडानसम्बन्धी समस्या समाधान गर्न सजिलो हुन्छ। उदाहरणका लागि, नेटवर्कमा जोडिएको कुनै उपकरणमा सामान्य 192.168.X.X दायराको सट्टा 169.254.X.X दायराको असामान्य आईपी ठेगाना देखिएमा त्यसले राउटरबाट आईपी ठेगाना प्राप्त गर्न नसकेको बुझ्न सकिन्छ। यस्तो ठेगानालाई अटोमेटिक प्राइभेट आईपी (Automatic Private IP) पनि भनिन्छ।
यदि घरको नेटवर्कमा जोडिएका उपकरणले वैध निजी आईपी ठेगाना पाएका छन् तर इन्टरनेट चलिरहेको छैन भने नेटवर्कका सबै उपकरण जाँचिरहनुभन्दा पहिले राउटर र त्यसपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) मा समस्या छ कि छैन भनेर जाँच गर्न सकिन्छ।एजेन्सी
