काठमाडौं, कार्तिक १३
स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीलाई अनलाइनबाटै डिजिटल स्वास्थ्य बीमा कार्ड प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।
बोर्डले सार्वजनिक गरेको जानकारीअनुसार सेवाग्राहीले बोर्डको आधिकारिक पोर्टल eportal.hib.gov.np मा गएर आफ्नो खातामा लगइन गरी डिजिटल स्वास्थ्य बीमा कार्ड प्राप्त गर्न सक्नेछन्।
यसका लागि सर्वप्रथम पोर्टलमा आफ्नो खाता खोलेर लगइन गर्नुपर्नेछ। त्यसपछि बीमा दर्ता प्रक्रिया पूरा गरी दर्ता स्वीकृत भएको जानकारी प्राप्त गर्न सकिनेछ। दर्ता स्वीकृत भएपछि आफ्नो एचआईबी (HIB) प्रोफाइलबाट डिजिटल स्वास्थ्य बीमा कार्ड प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।
त्यसैगरी, सेवाग्राहीले HIB Profile एपमार्फत पनि डिजिटल स्वास्थ्य बीमा कार्ड प्राप्त गर्न सक्नेछन्। यसरी प्राप्त गरेको डिजिटल कार्ड डाउनलोड वा प्रिन्ट गरेर स्वास्थ्य सेवा लिन सकिने बोर्डले जनाएको छ।
