कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सफ्टवेयर निर्माण गर्ने सीप सिकाउने उद्देश्यले वीरगञ्जमा ६ दिने तालिम सुरु भएको छ। नोभेम्बर १ देखि वीरगञ्ज उद्योग वाणिज्य संघमा सुरु भएको ‘एआई असिस्टेड सफ्टवेयर इन्जिनियरिङ’ बुटक्याम्पमा २८ जना युवा सहभागी छन्।
लिपफ्रग कनेक्टले आयोजना गरेको यो तालिममा वीरगञ्ज उद्योग वाणिज्य संघ इकोसिस्टम साझेदारका रूपमा रहेको छ भने रेस्टलेस डेभलपमेन्ट र रोबोटिक्स एसोसिएसन अफ नेपाल साझेदारका रूपमा रहेका छन्।
तालिममा मधेसी, मुस्लिमलगायत विभिन्न समुदायका युवालाई एउटा सामान्य अवधारणालाई एआई उपकरणको सहयोगमा प्रयोग गर्न सकिने वेब उत्पादनमा रूपान्तरण गर्ने सीप सिकाइँदैछ।
वीरगञ्जमा सञ्चालन भइरहेको कोड (CODE) परियोजनाअन्तर्गत यो दोस्रो तालिम हो। युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित कोड परियोजनाको नेतृत्व स्विसकन्ट्याक्टले गरिरहेको छ। यसअघि अक्टोबरमा परियोजनाले डिजिटल मार्केटिङ तथा कन्टेन्ट क्रिएसनसम्बन्धी तालिम सञ्चालन गरेको थियो।
सहभागीलाई आधुनिक प्रविधि कम्पनीमा हुने कामको अभ्यास गराउने गरी समूहमा विभाजन गरिएको छ। उनीहरूले उत्पादन व्यवस्थापन, डिजाइन, सफ्टवेयर विकास, गुणस्तर परीक्षण (क्वालिटी एस्युरेन्स) र डेभअप्ससम्बन्धी काम गर्नेछन्।
तालिमका क्रममा सहभागीले GitHub, .np डोमेन र Netlify जस्ता प्लेटफर्म प्रयोग गरी आफ्ना परियोजना विकास तथा सार्वजनिक गर्ने अभ्यास गर्नेछन्।
छ दिनको तालिमपछि डेमो डे आयोजना गरिनेछ। त्यसमा सहभागी समूहले आफूले तयार पारेका वेब उत्पादन मेन्टर, अन्य सहभागी र उद्योग क्षेत्रका प्रतिनिधिसमक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि तालिमको समापन तथा प्रमाणपत्र वितरण गरिनेछ।
