विशेष अदालतमा हदबन्दी छुट पाएको जग्गा बिक्री वितरण गरी सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
विशेष अदालतको प्रशासन शाखाले सार्वजनिक गरेको मुद्दा दर्तासम्बन्धी सूचनाअनुसार प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।
मुद्दामा तत्कालीन प्रधानमन्त्री नेपालसँगै तत्कालीन संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री डा. मीनेन्द्र रिजाल, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्वर्गीय डम्बर श्रेष्ठ र तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरेसहित ९७ जनालाई प्रतिवादी बनाइएको छ।
विशेष अदालतमा कायम भएको मुद्दाको नम्बर ०८३-सीआर-००६३ रहेको सूचनामा उल्लेख छ।
मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ लगायतका कानुनी व्यवस्थाअनुसार बिगो, जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ।
त्यसैगरी, प्रतिवादीहरूबाट सुनसरी र मोरङ जिल्लामा रहेको रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा रहेको ५९ बिघा १ कठ्ठा १२ धुर जग्गा जफत गर्नुपर्ने मागदाबी पनि गरिएको छ।
