गोदावरी नगरपालिका वडा नम्बर-९ को कार्यालय छम्पीमा शुक्रबार बाली उपचार सम्बन्धी निःशुल्क शिविर सञ्चालन हुँदै
ललितपुरको गोदावरी नगरपालिकाले वडा नम्बर-९ को कार्यालय, छम्पीमा जेठ ८ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कृषकहरूका लागि बाली उपचार सम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै बालीमा देखिएका रोग तथा किराको पहिचान र उपचारका लागि शिविर आयोजना गरिएको जनाएको हो।
कार्यक्रमको आयोजना गोदावरी नगरपालिका, कृषि विकास शाखा, बज्रबाराही, ललितपुरले गरेको हो।
शाखाका अनुसार कृषकहरूले आफ्ना बालीमा देखिएका रोग, किराको नमुना लिएर शिविरमा आउनुपर्नेछ। रोगको सही निदान गर्न सहज होस् भन्ने हेतुले नमुना ल्याउँदा रोग वा किराले क्षति पुर्याएको बिरुवाको भाग वा पूरै बिरुवाको नमुना ल्याउन आग्रह गरिएको छ।
शिविरमा कृषकलाई बाली रोग तथा किराको पहिचानबारे परामर्श दिइनेछ भने जैविक विषादीसमेत सिफारिस तथा वितरण गरिने कृषि विकास शाखाले जनाएको छ।


