अनलाइनमा ‘भ्युज’ र ‘मोनिटाइजेसन’ केन्द्रित अपुष्ट सामग्रीप्रति प्रेस काउन्सिलको चिन्ता, पत्रकार आचारसंहिता पालना गर्न आग्रह

Press Council प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले पछिल्लो समय अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमार्फत् पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलले एक प्रेस विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा यस्ता केही प्रवृत्ति बढ्दो रूपमा देखिएको र त्यसबारे उजुरी तथा जनगुनासो समेत बढिरहेको जनाएको हो।

काउन्सिलका अनुसार केही अनलाइन पोर्टल तथा सञ्चारकर्मीले समाचारको नाममा सामाजिक सञ्जाल—विशेषगरी युट्युब, फेसबुक पेज र रिल्स—मार्फत् ‘भ्युज’ बढाउने तथा मोनिटाइजेसनमा केन्द्रित भएर अपुष्ट र सनसनीपूर्ण सामग्री प्रसारण गर्ने प्रवृत्ति बढेको छ। यस्तो अभ्यासले पत्रकारिताको विश्वसनीयतामाथि प्रत्यक्ष असर पार्ने काउन्सिलको ठहर छ।

विज्ञप्तिमा अनुमति बिना सार्वजनिक निकाय—जस्तै अस्पताल, विद्यालय र सरकारी कार्यालय—मा प्रवेश गरेर भिडियो खिच्ने, अमर्यादित शैलीमा सामग्री प्रस्तुत गर्ने तथा सम्बन्धित पक्षको सहमति बिना बालबालिकासँग अन्तर्वार्ता लिएर भिडियो सार्वजनिक गर्ने जस्ता गतिविधिप्रति पनि काउन्सिलले आपत्ति जनाएको छ।

त्यस्तै, प्रकाशित सामग्रीलाई आधार बनाएर पत्रकार वा सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमा गालीगलौज, धम्की तथा चरित्रहत्या गर्ने प्रवृत्ति पनि बढेको उल्लेख गरिएको छ। अपुष्ट आरोपलाई तथ्य परीक्षणबिनै सार्वजनिक गर्ने, छोटा भिडियो वा ‘रिल्स’ बनाएर भ्रमपूर्ण सन्देश फैलाउने र कार्यालयसँग सम्बन्धित कागजात वा दृश्यलाई सन्दर्भबाहिर राखेर प्रस्तुत गर्ने कार्यप्रति समेत काउन्सिलले सचेत गराएको छ।

नेपालको सीमावर्ती क्षेत्रमा विदेशी सञ्चारमाध्यम वा पत्रकारले अनुमति बिना गतिविधि गरेको र त्यसबाट कानुनविपरीत सामग्री प्रसारण भएको विषयमा समेत काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रेस काउन्सिल नेपालले सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय र मर्यादित बनाउन पत्रकार आचारसंहिता पालना अपरिहार्य रहेको दोहोर्‍याएको छ। समाचार उत्पादन र प्रसारणका क्रममा सत्य, तथ्य, निष्पक्षता र सन्तुलनलाई प्राथमिकतामा राख्न तथा कुनै पनि सामग्री सार्वजनिक गर्नु अघि त्यसको विश्वसनीयता परीक्षण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।

साथै, समाचार वा अभिव्यक्तिका आधारमा पत्रकारमाथि धम्की, दबाब वा दुर्व्यवहार नगर्न र प्रेस स्वतन्त्रताको मर्यादा कायम राख्न आमनागरिक तथा सरोकारवालासँग पनि काउन्सिलले अपिल गरेको छ। नेपालको डिजिटल पत्रकारिता तीव्र रूपमा विस्तार भइरहेका बेला प्रेस काउन्सिलको यो आग्रहलाई अनलाइन सञ्चारमाध्यमको विश्वसनीयता र पत्रकारिताको व्यावसायिक मर्यादासँग जोडेर हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *