Headlines

२५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ “ग”’ जारी गर्ने भएको छ। बैंकले बुधबार सूचना जारी गर्दै खुला बोलकबोलमार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागिएको जनाएको हो।

सूचनाअनुसार २०८३ असार १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने यसको अवधि एक वर्ष रहनेछ। ऋणपत्रको साँवा २०८४ असार १९ गते फिर्ता गरिनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

न्यूनतम ५ करोड रुपैयाँदेखि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। त्यसपछि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्र राष्ट्र बैंक तथा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र खरिद गर्न पाउनेछन्।

बोलकबोलमा प्राप्त ब्याजदरलाई न्यूनबाट उच्च क्रमसम्म मिलाएर २५ अर्ब रुपैयाँसम्मको रकम बाँडफाँट गरिनेछ। एउटै ब्याजदरमा माग गरिएको रकम उपलब्ध रकमभन्दा बढी भएमा समानुपातिक (प्रो–राटा) आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार स्वीकृत बोल रकम निष्कासनकै दिन सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुने तथा त्यस्तो संस्थालाई जरिवानासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन रोक लगाइने व्यवस्था गरिएको छ।

बैंकले ऋणपत्रलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नमिल्ने तर वैधानिक तरलता अनुपात (SLR) तथा खुद तरल सम्पत्ति–निक्षेप अनुपात (Net Liquid Asset to Total Deposit Ratio) मा भने गणना गर्न सकिने जनाएको छ। साथै, परिपक्वता अवधि पूरा हुनुअघि साँवा रकम फिर्ता नदिइने पनि सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *