इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय वाणिज्य बैंक, मोबाइल बैंकिङ एप ‘डिजिटल संसार’ प्रयोग गर्न आग्रह

इन्टरनेट, RBB

राष्ट्रिय वाणिज्य बैंकले आगामी असार मसान्तदेखि आफ्नो इन्टरनेट बैंकिङसेवा बन्द गर्ने भएको छ। बैंकले ग्राहकलाई सूचना जारी गर्दै हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध सेवा बैंकको मोबाइल बैंकिङ ‘डिजिटल सन्सार’ बाट पनि सहज रूपमा प्राप्त गर्न सकिने भएकाले उक्त सेवा बन्द गर्न लागिएको जनाएको हो।

बैंकका अनुसार २०८३ साल असार मसान्तसम्म सञ्चालनमा रहने इन्टरनेट बैंकिङसेवा त्यसपछि औपचारिक रूपमा बन्द हुनेछ। हाल उक्त सेवा प्रयोग गरिरहेका ग्राहकलाई आवश्यक बैंकिङ सेवा निरन्तर रूपमा प्राप्त गर्न मोबाइल बैंकिङ‘डिजिटल सन्सार’ प्रयोग गर्न आग्रह गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवामा जोड दिँदै मोबाइल एपमार्फत विभिन्न सेवा विस्तार गर्दै आएको छ। बैंकको भनाइअनुसार इन्टरनेट बैंकिङका अधिकांश सुविधा मोबाइल बैंकिङमै उपलब्ध भएकाले ग्राहकलाई एउटै डिजिटल प्लेटफर्ममार्फत सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

सेवा बन्द गर्ने निर्णयबाट ग्राहकमा पर्न सक्ने असुविधाप्रति बैंकले खेदसमेत व्यक्त गरेको छ। साथै, ग्राहकको विश्वास र निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला वर्षमा मोबाइल बैंकिङलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेका बेला राष्ट्रिय वाणिज्य बैंकको यो निर्णयलाई पनि डिजिटल बैंकिङ रूपान्तरणको अर्को चरणका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *