प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम : सञ्चारमन्त्री डा. तिमिल्सिना

सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता, प्रविधि र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता, संवेदना र जीवन–जगत बुझ्ने सबैभन्दा सशक्त माध्यमका रूपमा कायम रहेको बताएका छन्।

काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्यले मानिसलाई आत्मचिन्तन, संवेदना र मानवीय सम्बन्धसँग जोडिराख्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

“एल्गोरिदम, डाटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै कविता किन लेख्छन् ? कथा किन सुनाइरहन्छन् ? किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो,” उनले भने।

फेस्टिभलको यस वर्षको विषयवस्तु समसामयिक र सान्दर्भिक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा तीव्र परिवर्तन भइरहे पनि मानिस अझै जीवन जगतको अर्थ, सम्मान, पहिचान र नयाँ आशाको खोजीमै रहेको बताए।

“सूचना प्रविधिको युगमा हामी पहिलेभन्दा धेरै जोडिएका छौँ, तर एकअर्कालाई बुझ्ने क्षमतामा भने उति प्रगति गर्न सकेका छैनौँ। यही कारण साहित्य अपरिहार्य बन्छ। साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ,” उनले भने।

लेखक, कवि र अनुवादकहरूको भूमिकाबारे चर्चा गर्दै उनले साहित्य सिर्जना मानवता जोगाउने सामूहिक अभियान रहेको पनि धारणा राखे। आफूले करिब एक दशक नेपाली साहित्य र संगीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै उनले साहित्य र संगीतले राजनीति, भूगोल र सामाजिक विभाजनभन्दा पर पुगेर सम्बन्ध विस्तार गर्न सक्ने उल्लेख गरे।

आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै मन्त्री तिमिल्सिनाले सन् २००६ मा नेपाली गजल सङ्ग्रह प्रकाशित गरेको अनुभव सुनाए। उनका अनुसार कविता त्यस्तो माध्यम हो, जसले तथ्यांक, नीति र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई अभिव्यक्त गर्न सक्छ।

सोही कार्यक्रममा नेपालको भाषिक र सांस्कृतिक विविधताबारे चर्चा गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा बोलिने प्रत्येक भाषाले आफ्नै विश्वदृष्टि बोकेको उल्लेख गरे।

“हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिहरूले हाम्रो साझा पहिचानलाई समृद्ध बनाएका छन्,” उनले भने।

आधुनिक सञ्चार प्रणाली र सामाजिक सञ्जालको विकासअघि पनि कथावाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेर राखेको उल्लेख गर्दै उनले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिष्कृत हुँदै आएको बताए।

नेपाली साहित्यिक परम्पराबारे बोल्दै उनले भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेको बताए। अहिलेको पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई समकालीन चुनौतीसँग जोड्दै अघि बढाइरहेको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले समाज निर्माणका लागि पूर्वाधार, संस्था र अर्थतन्त्रजत्तिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि आवश्यकता पर्ने उल्लेख गरे। “सरकारले पूर्वाधार निर्माण गर्न सक्छ, संस्थाले प्रणाली बनाउन सक्छ र अर्थतन्त्रले समृद्धि दिन सक्छ। तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन्,” उनले भने।

साहित्यिक मेला तथा अन्तर्राष्ट्रिय सर्जकहरु जमघट हुने मञ्चहरूले विचारलाई सीमापार पुर्‍याउने र सिर्जनात्मक संवादलाई विस्तार गर्ने धारणा सञ्चारमन्त्री तिमिल्सिनाले राखे। अन्तर्राष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालको हिमाल, संस्कृति, भाषा र कथालाई विश्व समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *