तेमालका अन्तिम तामाङ राजा : काभ्रेका राजा ह्रिन्जेन् दोर्जेको इतिहास र स्वाभिमानको कथा

ह्रिन्जेन् दोर्जे

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यहाँका आदिवासी जनजातिहरूको आफ्नै इतिहास, सभ्यता र गौरवशाली परम्परा छ। यिनै विविध समुदायमध्ये तामाङ समुदाय पनि नेपालको एक महत्वपूर्ण आदिवासी जनजाति हो। तामाङ समुदायको इतिहास, संस्कृति र पहिचानको चर्चा हुँदा एउटा नाम विशेष सम्मानका साथ उच्चारण गरिन्छ— राजा ह्रिन्जेन् दोर्जे।

काभ्रेको तेमाल क्षेत्रसँग जोडिएको यो नाम केवल एक शासकको नाम मात्र होइन, तामाङ स्वाभिमान, सांस्कृतिक पहिचान र ऐतिहासिक स्मृतिको प्रतीक पनि हो। आज पनि तामाङ समुदायमा उनको वीरता, नेतृत्व र बलिदानका कथाहरू लोककथा र जनश्रुतिका रूपमा जीवित छन्।

कल्लेरीदेखि घेलुङ्गो डाँडासम्म

राजा ह्रिन्जेन् दोर्जेलाई तामाङ समुदायका पुर्ख्यौली राजाका रूपमा चिनिन्छ। स्थानीय इतिहासअनुसार उहाँ काभ्रेको कल्लेरी निवासी तामाङ राजा थिए भने उनको दरबार घेलुङ्गो डाँडामा रहेको थियो।

म स्वयं त्यही क्षेत्रको छिमेकी बासिन्दा भएकाले स्थानीय बुढापाकाबाट सुनिएका धेरै कथाहरू आज पनि स्मृतिमा ताजा छन्। तेमाल क्षेत्रका गाउँहरूमा राजा ह्रिन्जेन् दोर्जेको नाम अझै श्रद्धापूर्वक लिइन्छ।

१२ तामाङ, १८ जात’ को ऐतिहासिक पृष्ठभूमि

१८औँ शताब्दीतिर नेपालको भूभाग विभिन्न साना राज्यहरूमा विभाजित थियो। किम्बदन्तीअनुसार त्यतिबेला १२ वटा राज्यमा तामाङ राजाहरूले शासन चलाएका थिए। अहिले १४० भन्दा बढी थर भएका तामाङ समुदायमा त्यतिबेला १८ वटा थर मात्र रहेको उल्लेख पाइन्छ। त्यसैले आजसम्म पनि तामाङ समाजमा “१२ तामाङ, १८ जात” भन्ने भनाइ प्रचलित छ। यो केवल एउटा उखान मात्र होइन, तामाङ समुदायको ऐतिहासिक अस्तित्वसँग जोडिएको स्मृति पनि हो।

साहसी र जनप्रिय शासक

स्थानीय जनविश्वासअनुसार राजा ह्रिन्जेन् दोर्जे बाल्यकालदेखि नै साहसी, नेतृत्व क्षमता भएका र आफ्नो समुदायप्रति जिम्मेवार व्यक्तित्व थिए। प्रभावशाली परिवारमा जन्मिएका कारण उनले सानैदेखि शासन, सुरक्षा र सामाजिक व्यवस्थापनबारे अनुभव हासिल गरेका थिए। उनको शासन शैली पनि निकै प्रभावकारी मानिन्छ। मौखिक इतिहासका अनुसार उनले आफ्नो क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यतिबेला पहाडी क्षेत्रका साना राज्यहरूबीच बेला–बेला संघर्ष र प्रतिस्पर्धा भइरहन्थ्यो। यस्तो अवस्थामा आफ्नो भूभाग सुरक्षित राख्नु र जनताको संरक्षण गर्नु ठूलो चुनौती थियो। तर राजा ह्रिन्जेन् दोर्जेले आफ्नो नेतृत्व र रणनीतिका माध्यमबाट ती चुनौतीहरूलाई सफलतापूर्वक सामना गरेका थिए।

उनी जनतासँग नजिक रहेर शासन गर्ने शासकका रूपमा चिनिन्थे। यही कारण उनले जनविश्वास जित्न सफल भएको विश्वास गरिन्छ।

तामाङ संस्कृति र पहिचानका संरक्षक

काभ्रे, रसुवा, नुवाकोट, धादिङ लगायतका पहाडी भेगहरूमा राजा ह्रिन्जेन् दोर्जेको प्रभाव रहेको जनश्रुति पाइन्छ। यी क्षेत्रहरूमा उहाँको नाम तामाङ संस्कृति र पहिचानसँग गहिरो रूपमा गाँसिएको छ। तामाङ समुदायको आफ्नै भाषा, संस्कृति, परम्परा र सामाजिक संरचना छ। राजा ह्रिन्जेन् दोर्जेले आफ्नो शासनकालमा तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको मान्यता आज पनि जीवित छ।

विभिन्न सांस्कृतिक कार्यक्रम, लोकगीत, लोककथा र मौखिक इतिहासमा उहाँको वीरता र नेतृत्वको चर्चा हुने गर्छ। यसले उनी केवल राजनीतिक शासक मात्र नभई सांस्कृतिक पहिचानका प्रतीक पनि थिए भन्ने पुष्टि गर्छ।

गोरखा राज्यसँगको संघर्ष

नेपालको इतिहासमा गोरखा राज्यको विस्तार र नेपाल एकीकरणलाई महत्वपूर्ण घटनाका रूपमा हेरिन्छ। १८औँ शताब्दीमा गोरखाले विभिन्न साना राज्यहरूलाई आफ्नो अधीनमा ल्याउँदै एकीकृत नेपाल निर्माणको अभियान सुरु गरेको थियो।

यही क्रममा तामाङहरूको ऐतिहासिक तेमाल राज्य पनि गोरखाको लक्ष्यमा परेको थियो। स्थानीय इतिहासअनुसार तेमाल राज्य करिब १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शक्तिशाली राज्य मानिन्थ्यो।

स्थानीय जनश्रुति अनुसार वि.सं. १८०१ मा गोरखा राज्यले पहिलोपटक तेमालमाथि आक्रमण गरेको उल्लेख पाइन्छ। त्यसपछि पनि लामो समयसम्म तामाङ पक्षले प्रतिरोध जारी राखेको जनविश्वास छ।

एउटा भोज, जसले इतिहास बदलिदियो

स्थानीय जनश्रुतिअनुसार राजा पृथ्वीनारायण शाहले तेमालका राजा ह्रिन्जेन् दोर्जेसँग मितेरी सम्बन्ध स्थापना गरेका थिए। केही समयपछि तेमालको चुखाबेँसी लामबगर क्षेत्रमा एउटा विशेष भोज आयोजना गरियो। भोजमा सहभागी हुन तामाङ राजालाई कुनै पनि हतियार नल्याउन भनिएको थियो। तर गोरखा पक्षले भने पहिल्यै हातहतियार बालुवामुनि लुकाएर राखेको कथन पाइन्छ।

त्यही क्रममा राजा ह्रिन्जेन् दोर्जेमाथि आक्रमण भएको र उनको हत्या गरिएको जनश्रुति छ। साथै उनका समर्थकहरूको समेत हत्या गरिएको बताइन्छ।

स्थानीय इतिहासअनुसार वि.सं. १८१९ असोज २ गतेको त्यो घटनाले तेमाल राज्यको राजनीतिक अध्याय समाप्त गरिदियो। त्यसपछि गोरखा राज्यको प्रभाव विस्तार हुँदै गयो र स्थानीय शासन प्रणाली क्रमशः कमजोर बन्दै एकीकृत राज्य व्यवस्था स्थापित हुन थाल्यो।

किन सम्झिन्छ तामाङ समुदाय?

राजा ह्रिन्जेन् दोर्जेको महत्व केवल एउटा राज्यका शासकका रूपमा सीमित छैन। उनी तामाङ समुदायको आत्मसम्मान, साहस र स्वाभिमानको प्रतीकका रूपमा स्थापित हुन्।

उनलाई सम्झनुका केही प्रमुख कारणहरू यस्ता छन्—

  • तामाङ समुदायका ऐतिहासिक तथा सांस्कृतिक व्यक्तित्व
  • न्यायप्रिय र दूरदर्शी नेतृत्वकर्ता
  • समुदायको एकता र सहकार्यका पक्षधर
  • भाषा, संस्कृति र परम्पराको संरक्षणकर्ता
  • जनतासँग नजिकको सम्बन्ध राख्ने लोकप्रिय शासक

अझै जीवित छ स्मृति

आज पनि तेमाल क्षेत्रमा राजा ह्रिन्जेन् दोर्जेको स्मृति जीवित छ। उनको दरबार नजिकै रहेको कोट तेमाल क्षेत्रमा राजा र रानीको सम्झनामा शालिक स्थापना गरिएको छ। त्यहाँ पुग्ने जो–कोहीले स्थानीय बासिन्दाबाट राजा ह्रिन्जेन् दोर्जेका कथाहरू सुन्न सक्छ। धेरै मानिसहरू इतिहास बुझ्न र तामाङ समुदायको विगत जान्न त्यहाँ पुग्ने गरेका छन्। यसले इतिहासका केही पात्रहरू समयसँगै हराउँदैनन्, उनीहरू जनमानसमा जीवित रहिरहन्छन् भन्ने देखाउँछ।

राजा ह्रिन्जेन् दोर्जे नेपालको स्थानीय इतिहासका महत्वपूर्ण पात्रमध्ये एक हुन्। उनले आफ्नो साहस, नेतृत्व र सांस्कृतिक चेतनाका कारण तामाङ समुदायमा विशेष स्थान बनाएका छन्। उनी एउटा शासक मात्र नभई तामाङ समुदायको स्वाभिमान, सांस्कृतिक गौरव र ऐतिहासिक पहिचानका प्रतीक पनि हुन्। उनको योगदानले नेपालको बहुसांस्कृतिक इतिहासलाई अझ समृद्ध बनाएको छ।

आज पनि तामाङ इतिहासमा उनको नाम सम्मानका साथ स्मरण गरिन्छ। उनको जीवन र संघर्षले तामाङ समुदायको गौरवपूर्ण अतीतलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो इतिहास, भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्न प्रेरणा दिन्छ। राजा ह्रिन्जेन् दोर्जेको अध्ययन केवल एउटा ऐतिहासिक व्यक्तित्वको खोज मात्र होइन, यो स्थानीय इतिहास, आदिवासी पहिचान र सांस्कृतिक पुनर्स्थापनासँग जोडिएको महत्वपूर्ण विषय पनि हो।

प्रशिक्षार्थी पत्रकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *