सोलुखुम्बुमा एआइ पत्रकारिता तालिम

AI training

विश्वको सर्वोच्च शिखर सगरमाथाको फेद सोलुखुम्बुमा पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले एआइ पत्रकारिता सम्बन्धी तीन दिने तालिम सुरु गरिएको छ ।

ग्रामीण तथा हिमाली जिल्लामा कार्यरत पत्रकारलाई डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी ज्ञानसँग अभ्यस्त गराउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा जिल्ला सदरमुकाम सल्लेरीमा आजदेखि तालिम सुरु भएको जनाइएको छ ।

तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना सकृय पत्रकारहरु सहभागी छन् । तालिम उद्घाटन गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले सूचना तथा सञ्चार क्षेत्रमा एआइ प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार हुँदै गएको उल्लेख गर्दै यसको प्रयोगलाई राज्यले नीतिगत रूपमा व्यवस्थित र उत्तरदायी बनाउन आवश्यक रहेको बताइन्। उनले प्रविधिको सही प्रयोगले समाचार सम्प्रेषणलाई छिटो, प्रभावकारी र तथ्यपरक बनाउन सहयोग पुग्ने धारणा राखिन्।

“विश्व प्रविधिमैत्री पत्रकारितातर्फ अगाडि बढिरहेको छ । अब पत्रकारिता केवल कागज र कलममा सीमित छैन,” उनले भनिन्, “एआइको प्रयोगले सूचना सम्प्रेषणलाई अझ प्रभावकारी बनाउन सक्छ, तर यसको प्रयोग जिम्मेवार र विश्वसनीय हुनुपर्छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सुवास दर्नालले हिमाली जिल्लाबाटै प्रविधिमा आधारित पत्रकारिताको अभ्यास सुरु भएको बताए। उनले विश्व पत्रकारिता तीव्र रूपमा डिजिटल र एआइ प्रविधितर्फ उन्मुख भइरहेका बेला नेपाली पत्रकारिता पनि त्यसबाट अलग रहन नसक्ने उल्लेख गरे।

“सगरमाथाको फेदबाट प्रविधिमैत्री पत्रकारिताको सन्देश प्रवाह सुरु भएको छ,” अध्यक्ष दर्नालले भने, “एआइको प्रयोगलाई दुरुपयोग भन्दा सदुपयोगमा पत्रकार समुदाय सजग हुन आवश्यक छ ।”

उनले ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारलाई आधुनिक प्रविधिसँग जोड्न सके सूचना प्रवाहको गुणस्तरमा समेत सुधार आउने विश्वास व्यक्त गरे। सीमित स्रोत–साधनका बीच काम गरिरहेका पत्रकारलाई डिजिटल सीपले थप सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । तालिमको सहजीकरण एआइ विज्ञ अजय शर्माले गरिरहेकानु छन्।

आयोजकका अनुसार तालिममा एआइको प्रयोग, डिजिटल पत्रकारिता, समाचार सम्पादन, तथ्य परीक्षण, सामग्री उत्पादन तथा आधुनिक सञ्चार प्रविधिसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ ।

तालिममा सहभागी पत्रकारलाई समाचार लेखन तथा सम्पादनमा एआइको प्रयोग, डिजिटल उपकरणमार्फत सामग्री उत्पादन, सामाजिक सञ्जाल व्यवस्थापन, तथ्य प्रमाणीकरण र मल्टिमिडिया पत्रकारिताका विषयमा व्यावहारिक अभ्याससमेत गराइने जनाइएको छ ।

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक एआइ पत्रकारिता सम्बन्धी तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । सञ्चार क्षेत्र प्रविधिमैत्री बन्दै गइरहेका बेला स्थानीय पत्रकारलाई समयानुकूल सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका सचिव अन्जु कार्कीले जानकारी दिइन्।

स्रोत: गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *