बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
गीतमा शब्द रचना स्वयं बियोन्डकै रहेको छ भने संगीत ब्रिजेश श्रेष्ठले गरेका छन्। आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको समिश्रण रहेको ‘झिम झिम’ ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।

गीतको भिडियो निर्देशक पी माधवले निर्देशन गरेका हुन्। भिडियोमा आकर्षक दृश्य संयोजन र कलात्मक प्रस्तुति देख्न सकिन्छ। कोरियोग्राफर दिपिका तामाङको कोरियोग्राफीले भिडियोलाई अझ जीवन्त बनाएको छ। भिडियोमा बियोन्ड स्वयं र मोडल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनय र अभिव्यक्तिले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया छ।

प्राविधिक पक्षमा पनि भिडियो निकै मजबुत देखिएको छ। भिडियोका डिओपी विवेक मगर हुन् भने दृश्य सम्पादन सोवित मगरले गरेका हुन्। भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, रंग संयोजन तथा सम्पादन शैलीले गीतलाई आधुनिक र आकर्षक बनाएको छ।

गीत सार्वजनिक कार्यक्रममा विभिन्न कला, संगीत तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पुनम अग्रवालको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा हाकिम रहेका थिए। कार्यक्रममा वक्ताहरूले नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ताले सिर्जनात्मक र गुणस्तरीय काम गरिरहेको उल्लेख गर्दै ‘झिम झिम’ गीतले पनि दर्शकमाझ राम्रो स्थान बनाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै बियोन्डले नेपाली संगीत क्षेत्रमा फरक स्वादको काम गर्ने प्रयास निरन्तर जारी रहने बताए। उनले दर्शक तथा स्रोताबाट प्राप्त साथ र प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ सिर्जनासहित उपस्थित हुने बताए।

सार्वजनिक भएको ‘झिम झिम’ गीत तथा भिडियो अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत दर्शकले हेर्न र सुन्न सक्नेछन्। गीतको शब्द, संगीत, अभिनय र दृश्य प्रस्तुतिको संयोजनले यसलाई समकालीन नेपाली संगीत बजारमा एउटा आकर्षक प्रस्तुति बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *