गुगल माथि उच्च तीन अङ्कको मिलियन युरो जरिवाना लगाउने युरोपेली संघको योजना

युरोपेली संघले एन्टिट्रस्ट अनुसन्धानअन्तर्गत अल्फाबेटको गुगल माथि उच्च तीन अङ्कको मिलियन युरो जरिवाना लगाउने योजना बनाएको जर्मनीको ह्याण्डेल्सब्लाट पत्रिकाले सोमबार आयोग स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

पत्रिकाका अनुसार निर्णय अन्तिम चरणमा पुगेको छ र गर्मी बिदाअघि घोषणा हुने अपेक्षा गरिएको छ। यो जरिवाना ठूला प्रविधि कम्पनीहरूको शक्ति नियन्त्रण गर्न बनाइएको डिजिटल मार्केट्स एक्ट (डीएमए) उल्लंघनमा युरोपेली संघले लगाएको सबैभन्दा ठूलो दण्ड हुने बताइएको छ।

रोयटर्सका अनुसार मार्च २०२५ मा औपचारिक रूपमा सुरु गरिएको अनुसन्धान गुगलले खोज परिणाममा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको भन्ने चिन्तासँग सम्बन्धित छ। साथै, विश्वकै सबैभन्दा लोकप्रिय इन्टरनेट खोज इन्जिनले स्थानीय नियमको पालना गरेको सुनिश्चित गर्ने उद्देश्य पनि अनुसन्धानको रहेको छ।

आयोगका प्रवक्ता थोमस रेग्नियरले इमेलमार्फत दिएको वक्तव्यमा आयोग जरिवाना लगाउनुभन्दा नियम पालना गराउन बढी इच्छुक रहेको बताएका छन्।

“भविष्यका समाधानबारे वार्ता भइरहे पनि आवश्यक परे हामी छिट्टै अर्को कदम चाल्न हिच्किचाउने छैनौं,” उनले भने।

गुगल ले युरोपेली संघका नियमहरूले आफ्नो खोज सेवा प्रभावित भएको भन्दै आलोचना गरेको छ र यो मुद्दा समाधान गर्न इच्छुक रहेको जनाएको छ।

कम्पनीका प्रवक्ताले भने, “डीएमए अन्तर्गत सर्चमा हामीले गरिसकेका परिवर्तनहरू उत्पादनको इतिहासकै सबैभन्दा ठूलो गिरावट हुन्, जसले केही स्वार्थी उजुरीकर्ताको फाइदाका लागि युरोपेली प्रयोगकर्तालाई कमजोर अनुभव दिएको छ।”

यस महिनाको सुरुमा यूरोपेली आयोगले गुगललाई चिन्ता कम गर्न थप समय दिएको जनाएको थियो, किनभने कम्पनीको अघिल्लो प्रस्ताव पर्याप्त नभएको ठहर गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *