Headlines

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुने गभर्नर पौडेलको भनाई

गभर्नर पौडेल

काठमाडौं, जेठ १५ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस’ सञ्चालनको अवधारणा अघि सारेको बताएका छन्।

बजेटसम्बन्धी जिज्ञासाको जवाफ दिँदै गभर्नर पौडेलले फिनटेक मार्केटप्लेस राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागको नेतृत्वमा सञ्चालन हुने बताए। उनका अनुसार बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने कुरा उल्लेख गरिएको छैन। फिनटेक मार्केटप्लेस सञ्चालन गर्ने कार्य राष्ट्र बैंकको नेतृत्वमा अगाडि बढ्ने हो।

त्यस्तै सार्वभौम सम्पत्ति कोषका सम्बन्धमा बोल्दै गभर्नर पौडेलले हाल नेपालको विदेशी मुद्रा सञ्चिति उच्च रहेको तर त्यसबाट प्राप्त प्रतिफल अपेक्षाकृत कम रहेको बताए। उनका अनुसार विदेशी मुद्रा सञ्चितिको प्रतिफल ४ प्रतिशतभन्दा कम रहेको अवस्थामा त्यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्ने सोच अघि सारिएको छ।

सामान्यतः ६ देखि ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति पर्याप्त मानिन्छ तर अहिले नेपालसँग १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने सञ्चिति छ। यसलाई छोटो अवधिका तरल उपकरणमा मात्र राख्दा प्रतिफल कम भइरहेको छ। त्यसैले केही हिस्सा सार्वभौम सम्पत्ति कोषमार्फत लगानी गर्ने अवधारणा ल्याइएको हो।

उनले भने, “हाम्रो अहिले विदेशी मुद्राको सञ्चिति अलिकति धेरै भएको र यसको प्रतिफल ४ प्रतिशतभन्दा कम भएको अवस्था छ। जोखिम न्यूनीकरणका लागि त्यसको केही भाग लगानी गर्ने सोचिएको हो। सामान्यतः ६–७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा हामीलाई जति चाहिन्छ, त्यो बैंकले चलाउने एउटा लक्ष्य हुन्थ्यो। अहिले त हामीसँग १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने विदेशी मुद्रा छ। त्यो सबै रकम अहिले हामीले अल्पकालीन तरल उपकरणमा राखेका छौँ, जसले गर्दा त्यसको प्रतिफल धेरै भइरहेको छैन। त्यसैले केही हिस्सा सार्वभौम सम्पत्ति कोषमार्फत लगानी गर्नका लागि सोचिएको हो।”

गभर्नर पौडेलले सम्पत्ति व्यवस्थापन कम्पनीको संरचनाबारे अन्तिम निर्णय भइनसकेको जानकारी पनि दिए। यद्यपि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उनको भनाइ थियो।

गोरखापत्र

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *