रारा ताल : प्रकृतिको मुस्कान, विकासको प्रतीक्षा

रारा

-पिटर अधिकारी

“भोलि उठी बाईजान्या हौं बसेई है रारा ताल, आक्को साल फेरि आउल, नबिर्सन्या मायाजाल।”

नेपालका धेरै तालतलैयामध्ये रारा ताल एक यस्तो प्राकृतिक सम्पदा हो, जसको नाम सुन्नासाथ मनमा निलो पानी, हरियाली वन र हिमालको प्रतिबिम्ब एकसाथ झल्किन्छ। नेपालको पश्चिमी भूभागमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्यटकीय सम्भावनाका दृष्टिले देशकै महत्वपूर्ण गन्तव्य मानिन्छ। नेपाल सरकारले यस क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा संरक्षण गर्दै आएको छ।

रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो। यसको लम्बाइ ५.१ किलोमिटर, चौडाइ २.७ किलोमिटर तथा सतह क्षेत्रफल १०.८ वर्ग किलोमिटर रहेको छ। तालको अधिकतम गहिराइ १६७ मिटर र समुद्री सतहबाट उचाइ २,९९० मिटर रहेको पाइन्छ।

जेठदेखि असोज महिनासम्म विभिन्न रङका फूलहरूले सजिएको रारा ताल स्वर्गकी अप्सराझैँ देखिन्छ। मौसमअनुसार आफ्नो रूप फेरिरहने राराको सौन्दर्यले जो–कोहीलाई मोहित बनाउँछ। यस तालको अर्को विशेषता भनेको यहाँ पाइने ‘असला’ माछा हो, जुन विश्वका अन्य ठाउँमा पाइँदैन भन्ने मान्यता रहेको छ। सिस्ने र कान्जिरोवा हिमशृंखलाले रारा तालको सौन्दर्यलाई थप आकर्षक बनाएको छ।

राराको पानी अत्यन्त सफा, गहिरो र नीलो देखिन्छ। तालको सतहमा हिमालहरूको प्रतिबिम्ब झल्कँदा दृश्य अझ मनमोहक बन्न पुग्छ। वरिपरि फैलिएको हरियाली वन, शान्त वातावरण र स्वच्छ हावाले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिसँग नजिक बनाइदिन्छ।

यति धेरै प्राकृतिक सम्भावना हुँदाहुँदै पनि रारा तालले अपेक्षित विकास भने अझै प्राप्त गर्न सकेको छैन। यसको मुख्य कारण भौगोलिक दुर्गमता हो। मुगु जिल्ला नेपालको दुर्गम जिल्लामध्ये एक भएकाले यहाँ पुग्न सहज यातायात सुविधा उपलब्ध छैन। हवाई यात्रा पनि अन्य पर्यटकीय गन्तव्यमा जत्तिकै सहज छैन। यही कारणले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर परेको देखिन्छ।

यस क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको पनि अभाव छ। पर्याप्त होटल, लज, स्वास्थ्य सेवा, मनोरञ्जन, सञ्चार तथा गुणस्तरीय विद्युत् सेवाको कमी अझै महसुस गर्न सकिन्छ। विद्युत् सेवा २४सै घण्टा उपलब्ध नहुँदा पर्यटकलाई असुविधा हुने गरेको छ। सरकारी लगानी तथा योजना कार्यान्वयनमा कमजोरी, स्थानीय जनशक्तिको अभाव र पर्यटनसम्बन्धी जनचेतनाको कमी पनि विकासका चुनौतीका रूपमा रहेका छन्। स्थानीय बासिन्दालाई पर्यटनबाट प्राप्त हुने आर्थिक तथा सामाजिक लाभबारे पर्याप्त जानकारी नहुँदा सक्रिय सहभागिता अपेक्षाकृत कम देखिन्छ।

रारा ताल नेपालमा मात्र होइन, विश्वभर परिचित पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। युरोप, अमेरिका तथा एसियाका विभिन्न देशबाट पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउने गरेका छन्। तर विडम्बना, धेरै नेपाली भने आफ्नै देशका यस्ता सुन्दर गन्तव्यभन्दा विदेश भ्रमणलाई प्राथमिकता दिने गरेको पाइन्छ।

भौगोलिक कठिनाइका बाबजुद रारा ताल उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो। तर यसको पर्याप्त प्रचार–प्रसार र प्रवर्द्धन सरकारी तवरबाट हुन नसकेको गुनासो पनि सुनिन्छ। यदि सरकारले यस क्षेत्रको पूर्वाधार विकास, प्रचार–प्रसार र पर्यटन व्यवस्थापनमा विशेष ध्यान दिने हो भने विदेशी मुद्रा आर्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्न सक्छ। साथै आन्तरिक पर्यटनको विकास भई स्थानीय व्यवसायलाई पनि प्रत्यक्ष लाभ पुग्ने देखिन्छ।

रारा ताल वरिपरि हरियाली जंगल फैलिएको छ। यहाँ सल्ला, गुराँस र बाँसका रुखहरू प्रशस्त पाइन्छन्। सहरी कोलाहलबाट टाढा रहेको यो क्षेत्र अत्यन्त शान्त र मनमोहक छ। यही शान्त वातावरणले मानिसको मनलाई सहजै आकर्षित गर्छ।

ताल क्षेत्रमा डुङ्गा सयरको सुविधा पनि उपलब्ध छ। डुङ्गामा बसेर राराको गहिराइ र वरिपरिको प्राकृतिक दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ। रारा राष्ट्रिय निकुञ्जभित्र पैदल यात्रा, हाइकिङ र ट्रेकिङका गतिविधि पनि लोकप्रिय छन्। स्वदेशी तथा विदेशी पर्यटकले यहाँ आएर यस्ता साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने गरेका छन्।

फोटोग्राफीका लागि पनि रारा अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ। तालको पछाडि देखिने हिमाल, हरियाली वन र नीलो पानीको संयोजनले अनुपम दृश्य सिर्जना गर्छ। यहाँ विश्वका दुर्लभ चराचुरुङ्गीहरूको अवलोकन गर्न सकिन्छ भने स्थानीय भाषा, संस्कृति र जीवनशैलीको अध्ययन तथा प्रचार–प्रसार गर्ने अवसर पनि प्राप्त हुन्छ।

रारा ताल केवल एउटा ताल मात्र होइन, प्रकृतिले नेपाललाई दिएको अनुपम उपहार हो। यसको मुस्कानजस्तै नीलो पानी र मोहक वातावरणले यहाँ पुग्ने प्रत्येक पर्यटकलाई फेरि फर्केर आउने चाहना जगाइरहन्छ। त्यसैले त स्थानीय गीतमा भनिएझैँ, राराको मायाजाल एकपटकमा टुट्दैन, बरु वर्षौंसम्म मनमा बसेर रहन्छ।

प्रशिक्षार्थी पत्रकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *